क्यान्सरको कारणले नेपालमा दैनिक ज्यान गुमाउनेको संख्या बढ्दै गइरहेको छ ।नेपालमा मात्रै होइन विश्वमै क्यान्सरको कारण वर्षेनी लाखौँले ज्यान गुमाउने गरेका छन् । क्यान्सर मानव शरीरमा जतिबेला पनि लाग्न सक्छ । तर क्यान्सर रोग विशेषज्ञ भन्छन्, ‘समयमै क्यान्सरलाई चिन्न सके निको हुन्छ ।’

के हो क्यान्सर ?

मानव शरीर कोषिकाहरुले बनेको हुन्छ । जन्मिदा हामी साना थियौँ । कोषिकाहरु बढ्दै गएर हामी ठूलो हुन्छौँ । जिवित प्राणीहरुमा कोषिका बढ्ने क्रम जारी हुन्छ । तर धेरै बढ्नु क्यान्सर हुनु हो ।

कोषिकाहरु सय, हजार, लाख हुँदै बढ्दै जाने तर नियन्त्रण भएन भने त्यसलाई क्यान्सर भनिन्छ । क्यान्सर कुनै भाइरस इन्फेक्सन र वंशाणुगत पनि हुन्छ । कोषिकाहरु बढेर एकबाट अर्को ठाउँमा फैलिर्दै जानुलाई क्यान्सर भनिन्छ ।

क्यान्सर शरीरको जुन पनि भागमा हुनसक्छ । कान, गाला, हड्डी, छाती, रगत, स्तन, पेट जस्ता शरीरका अंगमा क्यान्सर हुनसक्छ ।डब्लूबीसी अर्थात ह्वाइट ब्लड सेल्स बढ्दै गयो भने ब्लड क्यान्सर हुन्छ ।

ह्वाइट ब्लडको सेल ४ हजार देखि ११ हजार सम्म हुनुलाई नर्मल संख्या मानिन्छ । यो संख्या भन्दा धेरै अर्थात ११ हजार भन्दा माथि हुँदा कन्ट्रोल गर्न सकिएन भने ब्लड क्यान्सर हुन्छ । ब्लड क्यान्सर पनि कोषिकाको अनियन्त्रित वृद्धि हो । केही समय पहिला ब्लड क्यान्सरलाई डरलाग्दो रुपमा हेर्ने चलन थियो ।

त्यतिबेला क्यान्सरको उपचारमा पनि खासै विकास भएको थिएन । तर अहिले ब्लड क्यान्सरको उपचार नेपालमानै सम्भव भएको छ ।ब्लड क्यान्सरमा पनि क्रोनिक ब्लड क्यान्सर भएकालाई ट्याब्लेट खुवाइन्छ ।

एक्यूट ब्लड क्यान्सरलाई भने किमोथेरापी नै दिनुपर्ने हुन्छ । क्यान्सर मात्रै होइन कुनै पनि रोग सुरुमानै पत्ता लगाउँदा कम खर्चिलोका साथै उपचारमा पनि सहज हुन्छ । ढिलो भएर रोग फैलिसक्दा गाह्रो हुन्छ ।

ब्लड क्यान्सरका लक्षणहरु

यो कारणले क्यान्सर हुन्छ भन्ने कुनै पनि तथ्य अहिलेसम्म पत्ता लाग्न सकेको छैन । सूर्तिजन्य पदार्थ सेवन गर्नेलाई मात्रै होइन अरुलाई पनि क्यान्सर हुनसक्ने सम्भावना हुन्छ ।

जुन परिवारका सदस्यहरुमा क्यान्सर भएको छ त्यस्ता परिवारका व्यक्तिहरुले क्यान्सरको नियमित परीक्षण गर्न जरुरी हुन्छ ।ब्लड क्यान्सर समयमानै पत्ता लगाउन नसक्दा गिजा, नाक, कानबाट पनि रगत बग्नसक्ने सम्भावना हुन्छ ।

जसले गर्दा लामो समयसम्म उपचार गर्नुपर्ने हुन्छ । कुनै ब्लड क्यान्सरको बिरामीलाई किमोथेरापी दिइन्छ । कुनै –कुनै ब्लड क्यान्सरमा बोनम्यारो ट्रान्सप्लानटेसन सुरु हुन्छ । हाल यो नेपालको सिभिल अस्पतालमा सुरु भइसकेको छ । स्पष्ट भाषामा भन्नु पर्दा नेपालमा धेरै प्रकारको क्यान्सरको उपचार सम्भव भइसकेको छ ।

आत्मविश्वास नै औषधि

जुनसुकै क्यान्सर लाग्ने बिरामीले म रोगलाई जित्छु, निको हुन्छु भन्ने आत्मविश्वास बढाउन सके त्यस्ता बिरामीलाई औषधिले छिटो छुन्छ । यस्ता बिरामी अरु बिरामी भन्दा छिटो निको हुन्छन् । आत्मविश्वास ठूलो औषधि हो ।

त्यसैले क्यान्सर लागेको बिरामीलाई आत्मविश्वास बढाउनको लागि परिवारको ठूलो भूमिका हुन्छ । अन्य देशमा बिरामीलाई रोगको अवस्था, कुन अवस्थामा छ र कति खर्च लाग्छ भनेर चिकित्सक आफैले भन्ने गर्छन् ।

तर नेपालको सन्दर्भमा भने ९५ प्रतिशत क्यान्सर गोप्य राखिन्छ । आफन्तले बिरामीलाई नभन्न अनुरोध गर्छन् । तर जुन बिरामीले आफ्नो रोगको बारेमा थाहा पाउँछन् त्यो बिरामीले रोगसँग लड्ने क्षमताको विकास गर्न सक्छ ।

क्यान्सरलाई ठूलो रोग भन्दा पनि निको हुने अन्य रोग जस्तै हो भन्ने तरिकाले हेर्न जरुरी छ । क्यान्सरलाई जित्न सकिन्छ भन्ने सन्देश परिवारले बिरामीलाई दिन सक्नुपर्छ ।

कसरी बच्ने ?

विश्व स्वास्थ्य संगठनले ५० प्रतिशत क्यान्सर हाम्रो दैनिक जीवनयापनमा भरपर्ने कुरा हो भनेर प्रमाणित गरिसकेको छ । त्यसैले सामान्य तरिका अपनाए क्यान्सरबाट बच्न सकिन्छ ।

– सूर्तिजन्य पदार्थ सेवन नगर्ने ।

– मादक पदार्थ सेवन नगर्ने ।

– केमिकल हालेको खानेकुरा नखाने ।

– प्राकृतिक खाना खाने ।

– नुन धेरै नखाने ।

– ढुसी परेको खानेकुरा नखाने ।

– रातो र सेतो मासु खाने ।

–साकाहारी बन्न जोड दिने ।

Stock Art from Getty Images. Purchase January 7, 2013. For use in the Hematology flyer, project # 4731. Also for ITI, blog, and other design use, as necessary

थप जानकारीः

क्यान्सर के हो, कसरी बच्ने ?

क्यान्सरलाई धेरैले डरलाग्दो रोगको रुपमा लिन्छन् । समयमै ख्याल गरेन भनेर क्यान्सर फैलंदै गएर अकालमा ज्यान पनि जान सक्ने भएकाले यो डरलाग्दो रोग नै हो । क्यान्सर किन हुन्छ र यसबाट बच्न के गर्नुपर्छ भनेर उज्यालो सहकर्मी विना न्यौपानेले ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका क्यान्सर रोग विशेषज्ञ, डा. आविश अधिकारीसँग कुराकानी गर्नुभएको छ :

सबैले बुझ्ने भाषामा क्यान्सर भनेको के हो ?

क्यान्सर एउटा दीर्घ रोग हो । जुन शरीरको कुनै पनि अंगमा हुन सक्छ । यो एक प्रकारको घाउ हो जुन फैलिंदै जान्छ र अन्त्यमा बिरामीको मृत्युको कारण बन्छ । अहिले संसारमा वार्षिक एक करोडको क्यान्सरका कारण मृत्यु हुने गरेको तथ्याङ्क छ । नेपालमा हरेक बर्ष ४० हजार जना क्यान्सरका बिरामी थपिने गरेको भए पनि धेरै जनाले उचित उपचार पाएका छैनन् ।

हाम्रो शरीर करोडौ सुक्ष्म कोषहरुले बनेको हुन्छ । ती कोषहरूले हाम्रो शरीर बनाउँछन । जब तीमध्येका केही कोष बिग्रिन्छन, तिनीहरूले आफ्नो काम गर्न छोड्छन् र अप्राकृतिक तरिकाले बढ्न थाल्छन् । त्यसरी बढ्दै गएपछि त्यो अंगमा घाउ बन्छ, जसको उपचार गरिएन भने त्यो अंगले राम्ररी काम गर्न सक्दैन र क्यान्सरका लक्षण देखिन थाल्छन् ।

क्यान्सर यो अर्थमा डर लाग्दो रोग हो, किनभने ती बिग्रेका कोषहरु अरु अंगहरूमा सर्दै जान्छन् र अरू अंगहरूलाई पनि असर गर्दै जान्छ् । यसलाई फैलिएको क्यान्सर भनिन्छ ।

क्यान्सर लाग्ने कारण के के हुन् ?

सामान्य अवस्थामा काम गरिरहेका कोषहरूमा केही परिवर्तन आउँछ र ती बढ्न थाल्छन् । अनि क्यान्सर हुन्छ । ती कोषहरूमा आउने त्यो डरलाग्दो परिवर्तनका कारण बिभिन्न छन् । हामीलाई थाहा भएका कारणहरूमध्ये मुख्य कारण चुरोट, खैनी हो ।

नेपाली महिलाहरूमा भेटिने एउटा मुख्य क्यान्सर पाठेघरको क्यान्सर हो, जसको कारण ह्युमन प्यापिलोमा भाइरस हो । बाँकी क्यान्सरका कारणहरूमा जंकफुड, विषाक्त पदार्थ हालिएका खानेकुरा, कीटनाशक छरेर उमारिएका तरकारी फलफूलको सेवन र वंशाणुगत कारणहरू तथा प्रदुषण हुन् । केही क्यान्सरहरूको कारण अहिलेसम्म पत्ता लागेको छैन ।

क्यान्सरका लक्षणहरू के के हुन् ?

क्यान्सरका लक्षण कुन अंगको क्यान्सर हो, त्यसै अनुसार फरक हुन्छन् । यस्ताखालका लक्षणहरू महिना दिनभन्दा लामो समयसम्म भए डाक्टरलाई देखाउनु पर्ने हुन्छ । अरु लक्षणहरु यस्ता छन् :

कमजोरी हुने र तौल घट्ने

शरीरका कुनै पनि अंगमा गिर्खा गाँठाहरू आउने

छालामा नयाँ कोठी पलाउनु वा भएका कोठी ठूलो हुँदै जाने

मुखमा र जिब्रोमा लामो समयदेखि घाउ हुने

खाना निल्दा दुख्ने र स्वर फेरिने

सास फेर्न गाह्रो हुने, खोकी लाग्ने वा खकारमा रगत देखा पर्ने

लामो समयदेखि ग्यास्टिक, पेट पोल्ने वा उल्टी हुने

कारण पत्ता नलागेको ज्वरो आइरहने

दिसामा रगत देखिने हुन्छ ।

क्यान्सर लाग्नै नदिनको लागि के गर्न सकिन्छ ?

यसका लागि निम्न कुरामा ध्यान दिनुपर्छ :

सूर्तिजन्य पदार्थ र जाँडरक्सीको प्रयोग नगर्ने

पान सुपारीहरु नखाने

अस्वस्थ्यकर खानपिनको बानी व्यवहारमा सुधार गर्ने

अविवाहित महिलाहरूले ह्युमन प्यापिलोमा भाइरसको भ्याक्सिन लगाउने

सामान्य समस्या भए पनि लामो समयसम्म रहिरहे डाक्टरसँग जाँच गराउने ।

अझै महत्वपुर्ण कुरा के छ भने अविवाहित महिलाहरूले ३ पटक ह्युमन प्यापिलोमा भाइरसको भ्याक्सिन लगाएमा पाठेघरको क्यान्सर ९५ प्रतिशतसम्म रोक्न सकिन्छ ।

चुरोट खैनी खाने सबैलाई क्यान्सर हुने, अनि नखानेलाई क्यान्सर नहुने हो त ?

क्यान्सर सबैलाई हुन सक्छ तर सूर्तिजन्य पदार्थ (चुरोट खैनी) खानेलाई मुख, घाँटी र फोक्सोको क्यान्सर हुने सम्भावना धेरै हुन्छ । एकजना सूर्तिजन्य पदार्थ प्रयोग नगर्ने मान्छेलाई क्यान्सर हुँदा, २० जना चुरोट खैनी खानेलाई क्यान्सर भइसकेको हुन्छ ।

क्यान्सर लागे पछि के के कुरामा ध्यान दिने त ?

तुरन्त क्यान्सर रोग विशेषज्ञसँग भेटेर सही उपचार सुरु गर्ने

आयुर्वदले क्यान्सर निको हुँदैन त्यसैले अन्धविश्वासमा नलाग्ने

क्यान्सरको डाक्टरसँग बसेर उपचार र त्यसका प्रभावबारे राम्रोसँग कुरा गर्ने ।

नेपालमा अहिलेसम्म क्यान्सरको अवस्था कस्तो रहेको छ त ?

नेपालमा क्यान्सरको अवस्था दुःखलाग्दो छ । रोगीहरूको सँख्या बढिरहेको छ, सरकारले सूर्तिजन्य पदार्थको उत्पादन र बेचबिखनमा रोक लगाउन सकेको छैन । सरकारी क्यान्सर अस्पतालमा सबै सुविधा अहिले उपलब्ध छैनन् । त्यसैले क्यान्सर लागेर उपचार गराउनु भन्दा लाग्नै नदिनेतिर लाग्नुपर्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

भिडियाे हेर्नुहाेस्ः