असामान्य रूपमा पानी मिसिएकाे पातलाे दिसा बारम्बार लाग्याे भने त्याे नै पखाला हाे । याे एउटा सबैले थाहा पाइराखेकाे सामान्य राेग हाे । सामान्यतया दिनमा तीनचार पटकभन्दा बढी पातलो दिसा हुने अवस्थालाई झाडापखला भनिन्छ ।

यो समस्या सबै उमेरका व्यक्तिहरुलाई हुने गर्दछ भने कमजोर, बूढाबूढी ससाना केटाकेटी तथा दुब्ला पातला खालका व्यक्तिहरुलाई धैरैपटक भएमा त्यसले जीवनै खतरामा पार्दछ । गर्मी एवं वर्षायाममा यो समस्या बढी तथा प्रसारित हुने गर्दछ भने जाडो समयमा पनि हुने गर्दछ । हाम्रो देशमा प्रत्येक वर्ष हजारौँ बालबालिका झाडापखालाको कारण मर्ने गरेका छन् ।

झाडापखालाको समस्यामा पहिले दिशा गिलो हुने, पेट फुल्ने, कराउने जस्ता लक्षणहरु देखा पर्दछ । त्यसपछि दिशा पातलो हुँदै जान्छ र एकदमै पातलो दाल वा चामल पखालेको चौलानी जस्तै हुन थाल्छ । दिसा बसेर एकैछिन पुग्न नपाउँदैमा फेरि दिसा बस्न मन लाग्छ। दिसा निस्कँदा वायु पनि निस्कन्छ । पखाला लाग्दा कसैलाई पेट दुख्छ भने कसैलाई दुख्दैन वा भारीपना मात्र हुन्छ । कसैलाई झुसीलो डकार आउँछ । कसैलाई बान्ता हुने वा वाववाकी लाग्ने हुन्छ ।

सामान्य अवस्थामा हामीले खाएको खानेकुरा आमाशय तथा आन्द्राबाट पच्ने क्रममा तिनीहरुले त्यहाँ भएको तरल पदार्थ सोस्ने गर्दछन् तर पखाला लाग्दा आमाशय तथा आन्द्राले यो गर्ने वा सोस्ने काम गर्न सक्दैन । हामीले कुनै चिज वा पानी खाँदा मात्र हैन नखाएको अवस्थामा पनि आन्द्रामा पानी वा तरल पदार्थ जम्मा भइरहेको हुन्छ । कलेजो, अग्न्यासय(प्यानक्रियाज) लगायत आमाशय र आन्द्रा स्वयंले पनि तरल पदर्था स्राव गर्दछन् ।

फलस्वरुप पानी नपिएको अवस्थामा पनि पखाला लाग्दा पानीको मात्रा धेरै निस्कन्छ । धेरै पखाला लागेमा हाम्रो शरीरको पानी धेरै बाहिरिएर हाम्रो शरीरमा निर्जलीकरण हुन जान्छ साथै पखाला लाग्दा हाम्रो शरीरको नून(सोडियम) र चिनी(ग्लूकोज) बढी मात्रामा निस्कने हुनाले शरीरमा ती तत्वको कमि हुन जान्छ र शरीर अत्यन्तै शिथिल हुने एवं एकैछिनमै थला पर्ने पनि हुन सक्छ ।

पखाला किन लाग्छ ?

यो रोगको मुख्य कारण फोहर र विषाक्तता हो । जताततै वा जहाँ पायो त्यहीँ फोहर वा दुर्गन्धित फोहर पदार्थहरु मिल्काउँदा, फोहर वस्तुको प्रयोग गर्दा त्यसबाट पखाला लाग्न सक्छ । वर्षायाममा विभिन्न ठाउँमा फोहर पानी जम्नु, शहरमा ढल निकासको राम्रो व्यवस्था नहुनु, स्वच्छ र सफा पिउने पानीको अभाव खट्किनु ग्रामीण क्षेत्रमा वा शहरी क्षेत्रमा समेत दिसापिसाब जहाँ पायो त्यहीँ गर्नु, चर्पी फोहर र भान्छा वा खाने ठाउँ नजिकमा रहनु आदि अनेक कारण एवं क्रियाकलापहरुले गर्दा विभिन्न किटाणुहरुको संक्रमण भै पखाला लाग्दछ ।

सडेगलेका वस्तुहरु प्रयोग गर्नु, आवश्यकता भन्दा बढी खानु अनावश्यक चिल्लो एवं विकृत खानपानहरु धेरै खानु, राम्ररी सफा नगरेको वा फोहर एवं बासी खानेकुरा खानु, प्रदूषित पानी पिउनु तथा भोजनको मिश्रण गुण विपरित धेरै कुरा मिसाएर एकैपटक खानु जस्ता अनेकौँ खानपान सम्बन्धी बेनियम एवं अस्वस्थ्य अवस्थाहले गर्दा प्रायः पखाला लाग्दछ । दिशा गरेपछि साबुन पानीले हात नधोइकन वा विभिन्न काम गरेपछि हात राम्ररी सफा नगरीकन खाना खाने व्यक्तिहरुलाई पनि पखाला लाग्न सक्छ ।

नङ नकाट्ने र त्यसलाई फोहर राख्ने गर्दा पनि कुनै चिज खाँदा त्यसबाट पेटमा कृमि/परजीवि/किटाणु/विषाणुहरु विकारको रुपमा प्रवेश गरी पखाला लाग्ने हुन सक्छ । अहिले खानपान राम्रै खाइएको भए पनि पहिले पेटभित्र भएको विकार र जुका, अमीबा, जिआर्डिया आदि परजीवि, किटाणुहरुले संक्रमित गरेको अवस्था छ भने पखाला लाग्न सक्छ । यसबेला पेट दुख्ने, खाना नरुच्ने, वाकवाकी लाग्ने, आउँ पर्ने, रगतमासी पर्ने र वान्ता हुने जस्ता लक्षणहरु पनि उत्पन्न हुन सक्छन् ।

कसैलाई पाचनसम्बन्धी कमजोरी अर्थात् अपचको समस्या छ भने पनि सामान्य खानेकुरा खाँदा पनि पखाला चल्ने हुन्छ । नाक,कान, दाँत, घाँटी जस्ता अंगहरुमा केही संक्रमण वा समस्या भयो भने त्यसका कारण पनि पखाला लाग्ने हुन सक्छ। पित्त थैलीमा पत्थरी वा पित्ताशयको शोथ, कलेजोको कुनै समस्या वा ठूलो आन्द्रामा शोथ वा व्रण जन्य शोथ भएमा पनि पखाला लाग्न सक्छ ।

आकस्मिकरुपले डर लाग्दा वा झसङ्ग हुँदा पनि कसैकसैलाई पखाला लाग्न सक्छ । यस्तो प्रायः बच्चाहरुलाई हुने गर्दछ । खाना खाएको लगत्तै बढी दौडने, उफ्रने व्यायाम वा पेटमा दवाव पर्ने गरी व्यायाम गरेमा त्यसको कारण पनि पखाला लाग्न सक्छ ।

झाडा पखालाको प्रकोप महामारीको रुपमा पनि फैलन सक्छ । प्रायः ठूला दैवी प्रकोपहरु जस्तैः भुकम्प, बाढी पैह्रो, हुरी बतास आदिमा मासिन र अन्य जीवजन्तु धेरै मरेर लाशहरु त्यसै धेरै दिन रहेमा त्यसबाट तीव्र रुपमा झाडा पखाला लगायत अन्य संक्रामक रोगहरु लगदछन् । त्यसरी नै फोहर क्षेत्रमा यसको महामारी फैलिन्छ ।

झडाा वान्तालगायत हैजाको समस्या र महामारी फैलिएमा र समयमै उपचार नगरेमा धेरेको मृत्यु हुने निश्चित हुन्छ । झाडापखाला एक व्यक्तिबाट अर्को व्यक्तिलाई सर्न सक्दछ । एक व्यक्तिबाट अर्को व्यक्तिमा रोग सार्ने प्रमुख तत्व मानिस स्वयं हो भने झिंगा–भुसुना जस्ता कीराहरु र सुँगुर, कुकुर आदि जनावरहरुले पनि यसलाई प्रसार गरेर अर्कोलाई सार्ने गर्दछ ।

यसरी समग्रमा झाडा पखालाको कारणहरुलाई विश्लेषण गर्दा अप्राकृतिक खानपान, शरीरको कमजोर जीवनी शक्ति, शरीरभित्र एवं बाहिरी वातावरणको प्रदूषित एवं विकारमय अवस्था आदि नै यसको मूलकाण हो र किटाणु वा परजीविहरु त्यसपछिको दोस्रो कारण हो भन्ने बुझिन्छ ।

लक्षण

पखाला लाग्नुभन्दा पहिला बिस्तारै पेट दुख्नु, कहिले थाेरै गाढा त कहिले पानी जस्तै पातलाे दिसा तेजसँग लाग्नु, शारीरिक दुर्बलता, पेट थिच्दा दुख्नु, जिब्राे सुक्नु आदि लक्षण देखापर्छ ।

कारण

माैसम बदलिनु, पाचन अङ्गकाे काममा गडबडी आउनु, बेमाैसमी आहारबिहार, धेरै नुनिलाे, पिराे, मसालेदार खाना खाएमा, पच्न नसक्ने खानेकुरा खाएमा, तारेकाे, भुटेकाे, धेरै चिल्लाे खानेकुरा खाएमा, दुषित फल र पानीकाे प्रयाेग गरेमा, धेरै चिसाे पानी खानु, पहिला खाइसकेकाे खाना पचिनसक्दै फेरि खाना खानु, पेटमा जुका पर्नु, भय, शाेक, दुःख, मानसिक तनाव, अातंककाे प्रभाव, राती धेरै बेरसम्म बस्नु आदि ।

के खाने ?

१. जीवनजलकाे घाेल वा एक गिलास पानीमा एक चम्चा चिनी र एकचिम्टी नून मिसाएर एकएक छिनमा एकएक कप पिउनु पर्छ ।

२. खानामा दही, भात वा जउलाे खानुर्छ ।

३. चाैलानी, मूंग या मुसुराेकाे दाल पातलाे बनाएर पिउनु पर्छ ।

४. आराराेट, साबुदानाकाे खीर, बार्ली या छाछ इच्छाअनुसार खाने ।

५. लाैकाकाे तरकारी या दही फिटेर खाने ।

६. एक कप दहीमा एउटा केरा मिसाएर बिहान, दिउँसाे र बेलुका खाने ।

७. कागती, माैसम, सुन्तला, अनारकाे रस खानुपर्छ ।

८. काँचाे तथा पाकेकाे मेवा, उखुकाे रस, गुलियाे स्याउ खानुपर्छ ।

९. बेलकाे सर्वत बनाएर पनि खान सकिन्छ ।

के नखाने ?

१. बासी, तारेकाे, भुटेकाे, पिराे, मसालेदार खानेकुरा तथा गहुँबाट बनेकाे ‌खाद्यदार्थ नखाने ।

२. रक्सी, चिया, कफी, दुध नपिउने ।

३. झिँगा बसेकाे, बासी, नछाेपेकाे खानेपिउने चीज नखाने ।

४. फ्रिजमा राखेकाे खानेकुरा बाहिर निकालेर तुरून्तै नखाने ।

५. अमिलाे, आलु, भान्टा, काेभी, अचार नखाने ।

६. अगाडिदेखि नै काटेर राखेकाे प्रदूषित सलाद नखाने ।

राेग निवारणका सहायक उपाय

के गर्ने ?

पिउने पानी उमालेर सेलाएपछि मात्र पिउने ।

पेटलाई ताताे कपडाले ढाकेर राख्ने ।

खाना खानुअगाडि हात राम्राेसँग धुने ।

हातकाे नङ नियमित रूपमा काट्ने ।

प्याजलाई पिधेँर नाइटाेनेर लेप बनाएर लगाउने ।

के नगर्ने ?

दिसा, पिसाब, अपान बायु नराेक्ने ।

दिनमा सुत्ने र राती नसुत्ने बानी हटाउने ।

आैँलाकाे नङ बढ्न नदिने र नङ भए पनि फाेहाेर जम्मा हुन नदिने ।

फाेहाेर र बासी पानी नपिउने ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

यस्ता खानेकुरा खादा शरिरकाे बिकार पर्दाथ हट्छ

अस्वास्थ्यकर खानपिन, रहनसहन आदिका कारण शरीरमा जम्मा हुने विकारले विभिन्न रोग निम्त्याउँछ । शरीरलाई विकारहित बनाउन अथवा शरीरमा विकारको मात्रा कम गर्न बिभिन्न प्रकारका खाना खाने गर्नु उपयुक्त हुन्छ ।

कागती

बिहान खाली पेटमा मनतातो पानीमा कागतीको रस हालेर त्यसमा मह मिसाई खाने गर्नुपर्छ ।

दही

खानासँग दिनहुँ एक कचौरा दही खाने बानी बसाल्नुपर्छ । दहीमा एन्टिअक्सिडेन्टनामक तत्व हुन्छ । यसमा क्याल्सियम र भिटामिन पनि प्रशस्त मात्रामा हुन्छन् ।

ग्रिन टी

बिहान एक कप र दिउँसो एक कप ग्रिन टी पिउने गरेमा शरीर विकाररहित तत्व हटाउन मद्दत गर्छ र रगतमा चिनीको मात्रा नियन्त्रित गर्न पनि मद्दत पुग्छ।

आलस

आलसमा पाइने फाइवरले आन्द्रालाई सफा गर्छ । साथै, यसमा ओमेगा–३ नामक तैलीय पदार्थ पनि पाइन्छ, जुन शरीरका लागि ज्यादै उपयोगी हुन्छ । पुरुषभन्दा पनि महिलाका लागि आलस उपयुक्त हुन्छ । किनकि, यसले महिलाको शरीरमा पाइने एस्ट्रोजनको मात्रा बढाउँछ ।

गहुँको जमरा

गहुँको जमरामा पाइने तत्वले एसिडिटी कम गर्ने, शरीरलाई विकाररहित बनाउने र कलेजोलाई स्वस्थ राख्ने गर्छ । साथै यसले रगत शुद्ध गर्ने, रक्तचापलाई नियन्त्रित राख्ने गर्छ ।

अदुवा

अदुवाले शरीरका विकार दिसापिसाबमार्फत बाहिर फाल्न र कलेजोलाई स्वस्थ राख्न मद्दत गर्छ । त्यसैले हरेकपटक खानासँग एक टुक्रा अदुवा खाने गर्नाले फाइदाजनक हुन्छ ।

धनियाँ

धनियाँले खानालाई सुगन्धित बनाउने काममात्र गर्दैन । खानपिनका कारण शरीरमा जम्मा भएका विकारलाई हटाउन मद्दत गर्छ । धनियाँको नियमित सेवन गर्नाले मिर्गौला स्वस्थ हुने, महिनावारीका बेला पेट सुनिने समस्या कम हुन्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।