मानिसलाई खाना खाएपछि मुखमा अमिलो पानी आउने, छाती तथा घाँटी पोल्ने हुनसक्छ, जसलाइ ‘हार्ट बर्न’ भनिन्छ । हार्ट बर्न भन्ने चलन भएपनि मुटु पोलेको होइन । यी लक्षणलाई मेडिकल शब्दाबलीमा जी.ई.आर.डी (ग्यास्ट्रो इसोफेजियल रिफ्लक्स डिजिज) भनिन्छ ।

अन्ननली र आमासयको बीचमा एउटा भल्भ हुन्छ । अन्न नलीबाट खाना जाने बेलामा केही खुकुलो हुने यो मासंपेशी अरु बेलामा साँघुरिएर बस्छ । यसको विशेषता भनेकै खाना एकतर्फी रुपमा पास गर्ने हो ।

तर कतिपयको अन्ननली र आमासयको बीचमा हुने भाग सामान्य अवस्थाभन्दा बढी खुकुलो भएकाले यस्तो समस्या हुन्छ । हर्निया भएका मानिसहरूको पनि आमासयको माथिल्लो भल्भ खुकुलो भएर अमिलो पानी आउने समस्या हुनसक्छ ।

कुनै विशेष कारणले आमासयको भल्भ केही समयका लागि खुकुलो भएर पनि अमिलो पानी या डकार आउने समस्या रहनसक्छ । गर्भवती अवस्था अर्को उदाहरण हो । उनीहरूको पेटको आकार बढेर आमासयमा दवाव पर्छ ।

त्यसले गर्दा भल्भ खुकुलो भएर अमिलो पानी आउने लक्षण बढ्छ । अर्को कारण गर्भवती अवस्थामा हुने हर्मोनको गडबड हो । त्यसले पनि अमिलो पानी आउने, वाकवाकी लाग्ने बनाइदिन्छ।कसैलाई पहिलो ३ महिना हुन्छ भने कसैको अवधि ९ महिनासम्म पनि जानसक्छ ।

यस्तो लक्षणले आत्तिनुपर्ने कुनै कारण त छैन । तर कतिपय महिलाहरूलाई भने कुनै खानेकुरा नखाने, पानी पनि नरहने भएकाले जलविनियोजन डिहाइड्रेसन भएर अस्पताल भर्ना गर्नेसम्म पनि हुनसक्छ । तर अधिकांशको पहिलो ३/४ महिनापछि कम हुँदै जान्छ । त्यस क्रममै कतिपयलाई यति धेरै अमिलो पानी आइदिन्छ कि कुनै औषधिले पनि छुदैन ।

अन्य कतिपय कारणले पनि अन्ननली र आमासयको जङसनमा असर परेर अमिलो पानी आउछ । मानिसको आमाशयमा अम्ल हुन्छ । त्यो अम्ल फर्केर अन्ननलीमा वा मुखमै पनि आउन सक्छ, जसलाई हामीले अमिलो महसुस गर्छौं ।

आमाशयमा अम्ल बस्न नै अनुकुल संरचना हुने भएकाले त्यहाँ अम्ल रहँदा हामीले असजिलो महसुस गर्दैनौं । तर अन्ननली, मुख आदि अंग त्यस्तो अंम्लसँग सम्पर्क नहुने भएकाले त्यससँग लड्ने संरचना हुँदैन र अम्ल ती अंगमा पर्नासाथ हामीले पोलेको महसुस गर्छौं । हामीले खाएको खाना अन्ननली, आमासय, सानो/ठूलो आन्द्रा हुँदै निस्कासन हुने निश्चित अवधि हुन्छ । हरेक अंगमा खाना केही समय भण्डारण हुन्छ ।

खानाको स्वरुप र प्रकृति हेरेर एउटा अंगबाट अर्कोमा जाने अवधि फरक पर्छ । झोल र पानी छिटो जान्छ भने ठोस पदार्थले केही समय लिन्छ । बोसो र चिल्लोयुक्त खाना खादा आमासयदेखि सानो आन्द्रामा जाने अवधि लम्बिन्छ ।

लामो अवधि आमासयमा रहने भएकाले बोसो र चिल्लोयुक्त खानाले अन्ननली र आमासयको जङ्सनलाई केही खुकुलो बनाइदिन्छ । फलस्वरुप हामीले अमिलो पानी आएको महसुस गछौं । गुलियो वा फलफूल खाँदा छिटो भोक लाग्छ ।

तर बोसो र चिल्लोयुक्त खाना खाएपनि अन्यको तुलनामा हामीलाई भोक पनि अलि ढिलो नै लाग्छ । आमासयबाट सानो आन्द्रामा खाना जान समय लाग्ने र पच्ने अवधि पनि लम्बिने भएकाले भोक ढिलो लाग्ने गरेको हो ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

के तपाईको छातीको बीच भागमा दुख्ने गर्छ ? जान्नुहोस् कसरी यसको समाधान गर्न सकिन्छ

मानसिक तनाव हुँदा वा शारीरिक परिश्रम गर्दा छातीको बीच भागमा दुख्यो भने मुटु दुखेको शंका गर्नुपर्छ । यस्तो मुटुको दुखाइ छातीमा ढुंगाले थिचेको जस्तो हुने, डोरीले बाँधेको जस्तो, मुठ्ठीले थिचेको जस्तो, आगोले पोलेको जस्तो हुन्छ । यस्तो दुखाइ दायाँ–बायाँ कुम, पाखुरा, घाँटी तथा चिउँडोतिर सर्ने गर्दछ ।

धेरैजसो मानिसले दम बढ्यो भने फोक्सोमा खतरा भएको भनि सोच्दछन् । यो केही सत्य भए पनि दम खोकीको सम्बन्ध फोक्सोसँग मात्र नभई मुटुसँग पनि हुने गर्छ । परिश्रम गर्दा उत्पन्न दम धेरैजसो मुटुकै कमजोरीले हुने गर्छ ।

खुट्टाको घुँडादेखि कुर्कुचासम्म अगाडिपट्टिबाट रहेको लामो हड्डीमाथि औँलाले थिच्दा खोपिल्टा बस्यो भने खुट्टा सुन्निएको रहेछ भन्ने बुझ्नुपर्छ ।

घाँटीको बाहिर दायाँ वा बायाँतर्फ रक्तनली फुलेको छ भने मुटुभित्रको चाप बढ्यो भन्ने बुझ्नुपर्छ । मुटु कमजोर भएमा मुटुभित्रको चाप बढ्छ । यस्तो अवस्थामा घाँटीबाहिरका नसा राम्रोसँग फुलेको देखिन्छ ।

स्वस्थ मानिसको औँलाका टुप्पा चिटिक्क परेका थेप्चा हुन्छन् । मुटुमा समस्या भएका मान्छेको औँलाका टुप्पा
बाक्लो हुन्छ ।

रक्तचाप बढ्यो भने टाउको दुख्छ, चक्कर लाग्ने हुन्छ । कहिलेकाहीँ मुटुको धड्कन ढिला भयो भने चक्कर लाग्ने हुन सक्छ । १ मिनेटमा ६० देखि १०० पल्ट धड्कनुपर्ने मुटु प्रतिमिनेट ४५ भन्दा कमपल्ट धड्कियो भने चक्कर लाग्ने हुन्छ ।

क्षयरोग र क्यान्सर लाग्दा मात्र हैन, कहिलेकाहीँ मुटुमा समस्या हुँदा पनि कफमा रगत देखापर्ने हुन सक्छ । जोर्र्नीहरू दुख्ने र ज्वरो आउने, हातखुट्टा, ओठ आदि झड्का दिँदै अनियन्त्रित रूपमा चल्ने, छातीमा हात राख्दा बेग्लै आवाज आउनेजस्ता लक्षण देखापरे मुटुरोग लागेको हुन सक्छ ।

मुटु कसरी स्वस्थ राख्ने ?

सहरीकरण जति बढ्दै गयो हामीलाई हिँड्न उति नै कठिन लाग्न थालेको छ। केही पाइला हिँड्न पनि हामी सवारीसाधन नै खोज्न थालेका छौं।

सुविधा खोज्ने होडमा हामी मुटु रोगको जोखिम बढाइरहेका छौं। मुटु रोग पछिल्लो समयमा घातक र भयावह बन्दैछ।
यसको जोखिम कम गर्ने सबभन्दा सहज उपाय भनेको आफ्नो दैनिकी परिवर्तन गर्नु हो। शारीरिक रूपमा सक्रिय भएर हो।

मुटु स्वस्थ राख्न कम्तिमा पनि दैनिक तीस मिनेट लम्केर हिँड्नुपर्छ। साताको पाँच दिन हिँडे मात्र पुग्छ भन्ने सुनिए पनि सधैं हिँड्नु लाभदायक हुन्छ।

उच्च रक्तचाप, मधुमेह, शरीरको तौल, कोलस्ट्रोलको मात्रा कति छ भनेर वर्षमा कम्तिमा एकपटक स्वास्थ्य परीक्षण गर्नुपर्छ । यस्ता समस्या अचेल निकै बढेका छन् ।

जाडोमा मुटुका समस्या बढी हुन्छ । चिसोमा मुटुको धमनी खुम्चिने हुनाले रक्तचाप र रगत जम्न चाहिने प्रोटिन बढ्छ । धमनीमा ‘ब्लकेज’ भएकालाई छाती बढी दुख्न सक्छ । कहिलेकाँही धमनीभित्र जमेको बोसो फुटेर पनि रगत जम्न सक्छ। यसले रगतको प्रवाह रोक्छ र हृदयघातको सम्भावना बढ्छ ।

मुटु जोगाउन खानपिनमा ध्यान दिनुपर्छ । दैनिक व्यस्तताका कारण हामी जंकफुड र रेडिमेड खानामा भर परिरहेका छौं । यस्ता खानामा क्यालोरी र फ्याट बढी हुन्छ। शाकाहारी दालभात स्वस्थ हुन्छ । नुन र तेल कम गर्नुपर्छ भने हरियो सागसब्जी र फलफूलमा जोड दिनुपर्छ । मांसाहारी नै भए पनि रातो मासु कम गरी कुखुराको खानुपर्छ। माछा पनि लाभदायक मानिन्छ ।

हरियो सागसब्जी र फलफूलमा धेरै एन्टीअक्सिडेन्ट हुन्छ जसले खाना पचाउन सहयोग गर्छ। खराब कोलस्ट्रोल घटाउँछ र शरीरका कोषिकाको आयू बढाउँछ । बाहिरी खानेकुरामा अक्सिडेन्ट मिसावट हुन्छ जसले मान्छेलाई चाँडै बुढो देखाउँछ । मुटुका निम्ति जैतुनको तेल राम्रो मानिन्छ। तर, सबैले यो प्रयोग गर्न सक्छन् भन्ने छैन। त्यसैले आफूले प्रयोग गर्दै आएको तेल नै मात्रा घटाउनु लाभदायक हुन्छ ।

कम उमेरमै हृदयघात हुने समस्या पनि बढेको छ । बाह्य रूपमा स्वस्थ देखिएको मान्छेको भित्रभित्रै समस्या आइरहेको हुन सक्छ ।

चुरोट मुटुका लागि सबभन्दा बढी हानीकारक हो । युवा अवस्थामा हृदयघात हुने ८० प्रतिशत कारक चुरोट नै हो । तनाव, चुरोट, सूर्ती र रक्सी मिश्रणले मुटुमा बोसो जमाउने र फुट्ने क्रम बढाउँछ ।

कतिपयलाई रक्सी खाएको भोलिपल्ट रक्तचाप अनियन्त्रित रूपमा बढ्न सक्छ। लामो समय धेरै रक्सी खानो कालान्तरमा मुटु सुन्निएर फेल पनि हुनसक्छ। पुरुषले प्रतिदिन ३० मिली र महिलाले १५ मिलीसम्म रक्सी (हार्ड ड्रिंक्स) खानु ठीकै हुन्छ ।

यसबाहेक मुट स्वस्थ राख्न ‘एरोबिक’ गर्नु राम्रो मानिन्छ। हात खुट्टा सबै चलाएर व्यायाम गर्दा मुटुमा रक्तसञ्चार हुन्छ ।

लामो समय कुर्सीमा बसेर काम गर्नुपर्नेले बेलाबेला हिँडडुल गर्नुपर्छ। तनाव कम गर्न साथीहरू वा परिवारसँग नयाँ ठाउँ घुम्ने र समय बिताउने वा ध्यान गर्न सकिन्छ। व्यक्तिको रूचि र स्वाभाव अनुसार उसले आफ्नो मन भुलाउने र खुसी राख्ने क्रियाकलाप गर्न सक्छ।

शरीर स्वस्थ राख्ने केही उपाय

शरीर स्वस्थ भए मात्रै मस्तिष्क पनि स्वस्थ हुन्छ । जुन मान्छे स्वस्थ हुन्छ, त्यो जुनसुकै क्षेत्रमा पनि सफल हुन्छ । किनभने स्वस्थ मान्छेको शरीर र दिमाग पूर्ण रूपमा सक्रिय हुन्छ । स्वस्थ रहनका लागि केही यस्ता उपाय छन्, जो धेरै उपयोगी हुन्छन् र वैज्ञानिक दृष्टिकोणबाट पनि राम्रो मानिन्छन् ।

केही यस्ता उपाय

१. तामाको भाँडामा राखिएको पानी पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । तामामा ब्याक्टेरियानाशक गुण हुन्छ । यसले संक्रमण हुनबाट बचाउने गर्छ । तामाको भाँडामा राखिएको पानी फोक्सोका लागि पनि लाभदायक हुन्छ ।

२. शरीरलाई निद्रा मात्र होइन, पूर्ण रूपमा आराम दिनुपर्छ । आठ घन्टा सुत्नु मात्र राम्रो होइन, सुत्नुपहिले इलेक्ट्रोनिक सामानलाई टाढा राख्नुपर्छ । किनभने यसले दिमागलाई असर गर्छ र आराम गर्न दिँदैन । यसले गर्दा आठ घन्टा सुते पनि आराम महसुस हुँदैन ।

३. खानेकुरामा ध्यान दिनुपर्छ । आवश्यकभन्दा बढी खानाले शरीरमा हानि पुर्याउन सक्छ । त्यसैले आफ्नो शारीरिक गतिविधिअनुसार नै आहारको निर्धारण गर्नुपर्छ । कम वा हल्का खाना खाँदा राम्रो । किनभने यसले पेटमा पनि समस्या हुँदैन र मधुमेहजस्ता समस्या पनि हुँदैन ।

४. बस्दा सीधा भएर बस्ने । हामी प्रायः बसेरै दिन बिताउँछौँ । त्यसरी बस्दा कम्मर वा शरीरको पोस्चर राम्ररी नमिलेमा अन्य अंगमा दबाब पर्छ । यसले दुखाइ महसुस हुन्छ । त्यसैले बस्ने वेला ढाड सीधा बनाएर बस्नुपर्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।