जति व्यस्त रह्यो नकारात्मक सोचबाट त्यति नै टाढा रहन सकिन्छ । त्यसैले आफुलाई जतिसक्दो ब्यस्त राख्नुहोस् । काम गरेर, नाचेर, गएर, आफ्नो रुचिको काम गरेर समयको सदुपयोग गर्नुहोस् । कामको समयतालिका मिलाएर काम गर्नुहोस् र बाँकी रहेको समय खाली बिताउनुभन्दा आफ्नो हेरविचार गर्नुहोस् ।

बिहान छिटो उठेर या बेलुकाको समयमा केहि छिन बगैंचामा या हरियाली भएको ठाउँमा बस्नुहोस । बिभिन्न अध्ययनहरुका अनुसार, हरियाली भएको ठाउँमा कम्तिमा बिस मिनेट बस्दा दिमागमा आएको नकारात्मक सोंच र तनाव हट्दै जान्छ । त्यस्तै, प्रार्थना पनि गर्न सकिन्छ, जसले दिमागलाई शान्त बनाउन मद्दत गर्दछ ।

हरेक दिन बिहान पत्र-पत्रिका पढ्ने गर्नुहोस् । आफुलाई मनपर्ने भनाइ लेखेर आफ्नो कोठामा देखिनेगरि राख्नुहोस् । फुर्सदको समयमा किताबहरु र अन्य सहयोगी सामाग्रीहरु पढ्नुहोस् । हरेक दि बेलुकापख त्यो दिनमा घटेका राम्रा कुराहरु सम्झनुहोस् । आफ्नो जीवनको लक्ष्य र त्यसको लागी तपाईले त्यो दिनमा गरेका कामहरुका बारेमा लेख्नुहोस ।

त्यो दिनमा आफूबाट कुनै गल्ति भएको भए, आफुले आफुलाई माफी दिनुहोस । त्यसलाई जीवनको पाठको रुपमा लिनुहोस् र त्यो गल्ति नदोहोर्याउने प्रण गर्नुहोस् । व्यक्तिगत र वातावरणको सरसफाईमा ध्यान दिनुहोस । यसले तपाईको वरिपरी मात्र होइन, तपाईको दिमागलाई पनि सफा राख्न मद्दत गर्दछ ।

प्रशस्त मात्रामा पानी पिउनुहोस र स्वस्थ खाना खानुहोस् । कसैसंग कुरा गर्दै हुनुन्छ भने ठुलो आवाजलाई भन्दा तर्कलाई महत्व दिनुहोस् । कसैसंग ठुलो आवाजमा नाबोल्नुहोस । आफुले भनेको कुरा किन भनिरहेको छु भन्ने कारण दिनुहोस । आफ्नो आवेगलाई होइन विचारलाई प्रस्तुत गर्नुहोस् । र, यो स्वीकार्नुहोस् कि सबैको बिचार फरक-फरक हुन्छ ।

बाटोमा भेटघाट भएका, गाडीमा भेट भएका व्यक्तिहरुसंग मुस्कुराउनुहोस । कृपया, धन्यवाद, माफी जस्ता शब्दहरुको प्रयोग गर्नुहोस् । ति शब्द बोल्दा ति शब्दको भावना व्यक्त गर्नुहोस् । सहयोगको खाँचो भएका व्यक्ति देख्नुभयो भने सहयोग गर्नुहोस् । तपाईका यी बानीले तपाईको दिमाग, मनलाई स्फुर्त बनाउछन् । तपाई आफै मुस्कुराउँन थाल्नुहुनेछ ।

भिडियाे हेर्नुहाेस्ः

थप जानकारीः

किन आउँछ नकारात्मक सोच, कसरी हटाउने?

नेपाली समाजमा नकारात्मक सोचले जरा गाडेको छ। फलानाले राम्रो लगायो, मिठो खायो भनेर अरुको रिस–डाह गर्ने, आफ्नै जीवनसँग गुनासो, असन्तुष्टि राख्नेहरुको संख्या बढ्दै गएको देखिन्छ। यस्ता असन्तुष्टिले जीवनमा उदासीपन एवं निराशा उत्पन्न हुन्छ र विस्तारै नकारात्मक सोचको विकास हुन्छ।

नकारात्मक सोचाइले वरिपरिको वातावरण नै नकारात्मक बनाउँछ। नकारात्मक सोच्ने व्यक्तिले सकारात्मक कुरालाई पनि नकारात्मक तरिकाले हेर्ने गर्छन्। नकारात्मक सोचले गर्दा विभिन्न खालका मानसिक समस्या उत्पन्न हुनुका साथै दिर्घरोग बढाउँछ।

मानिसको दिमागमा सकारात्मक र नकारात्मक दुवै विचार आउँछन्। जो मानिसले नकारात्मक कुरालाई सकारात्मकमा परिवर्तन गर्छन् उनीहरुले जीवनमा उन्नति, प्रगति गर्छन्। जो मानिसले जीवनमा नकारात्मक भावनालाई हावी हुन दिन्छन्, उनीहरुलाई विभिन्न मानसिक तथा शारीरिक रोगले आक्रमण गर्छन्।

नकारात्मक सोचका लक्षण

मन खिन्न हुने, उदास हुने, नरमाइलो लाग्ने, रमाइलो कुरामा खासै रुचि नहुने, आफूले जीवनमा केही गर्न सक्दिनँ भन्ने सोच्ने, जीवन व्यर्थ लाग्ने व्यक्तिलाई डिप्रेसन निम्तिने गर्छ। अरुले के भन्लान्, मेरो कुरा काट्दै छन् कि भनेर शंका गर्ने, मलाई मार्ने षड्यन्त्र रचेका छन् कि भन्ने शंका गर्ने नकारात्मक सोचाइ हुन्।

यस्ता सोचाइले मान्छेलाई हिंस्रक बनाउँछ। मन आत्तिने, अग्लो ठाउँमा जान डराउने, लिफ्ट चड्न डराउने, लिफ्ट चढ्दा श्वास थुनिएको जस्तो हुने, बन्द कोठामा बस्न डराउने नकारात्मक सोचका परिणाम हुन्। पटकपटक हातखुट्टा धुने, नुहाउने, कोठा सफा गरेकोग¥यै गर्ने पनि नकारात्मक सोच कारणले हुने समस्या हुन्।

यस्ता समस्यालाई समयमै नियन्त्रण गरिएन भने ओसिडी निम्त्याउने गर्छ। धेरै घमण्ड गर्ने, मभन्दा ठूलो कोही छैन भन्ने नकारात्मक सोचका कारणले गर्दा नै हुने हो। यस्तो समस्या बढ्दै गएपछि बाइपोलार डिसअर्डर भन्ने मानसिक समस्या देखापर्छ। यस्तो समस्या भएको व्यक्तिले समाजमा नपच्ने, नमिल्दो व्यवहार देखाउने गर्छन्।

यस्ता खालका नकारात्मक सोचको कारणले आत्महत्या गर्नसमेत पछि पर्दैनन्। यस्तै एक उदाहारण हुन् सानेपाका २५ वर्षीय राम। उनलाई एक वर्ष अगाडि उनकी आमाले ‘आफूलाई नराम्रो देख्छ, जे पनि गर्न सक्दिनँ मात्र भन्छ, नाक बांगो भयो भनेर प्लास्टिक सर्जरी गर्यो र कपाल पातलो भयो भनेर कपाल पनि रोप्यो तर पनि चित्त बुझेन’ भन्दै एक वर्ष अगाडि अस्पतालमा परामर्शको लागि ल्याएकी थिइन्।

नराम्रो भएर नै प्रेमिकाले छोडी भनेर चार महिना अगाडि रामले आत्महत्या गरे। एक पटक नकारात्मक सोचाइ आयो भने त्यसलाई मनबाट निकाल्न निकै गाह्रो हुन्छ। यदि बेलैमा मनलाई नियन्त्रण गर्न सकिएन भने नकारात्मक सोच बढ्दै जान्छ।

 

कसरी आउँछ नकारात्मक सोच

नकारात्मक सोच आउनुको मुख्य कारण मानिस कस्तो वातावरणमा हुर्केको छ, त्यसमा भर पर्छ। मानसिक विकास हुने क्रममा बच्चाको मनमा नकारात्मक सोचमात्र परेको छ भने त्यो मानिसलाई जीवनभरि नै नकारात्मक सोचले दुःख दिन्छ।

– बच्चा हुर्काउने बेलामा यो गर्नु हुन्छ, त्यो गर्नु हुँदैन भनेर रोकतोक गर्दा पनि बच्चामा नकारात्मक सोचको विकास हुन्छ।

– बाबुआमामा नकारात्मक सोचाइ छ भने पनि बच्चामा यस्तो समस्या देखिन्छ।

– बच्चालाई तर्साएर राख्दा बच्चामा नकारात्मक सोचको विकास हुन्छ।

– यसले केही गर्न सक्दैन भनेर अगाडि बढ्न नदिँदा पनि बच्चाको आत्मविश्वास कम हँुँदैजान्छ र नकारात्मक सोचको विकास हुन्छ।

– शारीरीक विकास हुने क्रममा पनि दिमागमा हुने रसायन तत्वको गडबढीले नकारात्मक सोच आउने गर्छ।

– नकारात्मक सोचले गर्दा आत्मविश्वास हराउँदै जाने, आफूलाई कमजोर सोच्ने, केही गर्न सक्दिनँ जस्तो लाग्ने, बोल्न डराउने, निराश हुने जस्ता लक्षण देखिन्छन्।

नकारात्मक सोच कसरी हटाउने

नकारात्मक भावनाको विकास हुनुमा अरूलाई दोष दिनुभन्दा पनि आफ्नो मनलाई नियन्त्रण गर्न सक्नुपर्छ। नकारात्मक सोचाइ र विचारलाई सकारात्मकमा परिवर्तन गर्न सकियो भने जीवनमा सफलता हासिल गर्न सकिन्छ। सकारात्मक सोचले केही गर्ने ऊर्जा प्रदान गर्छ भने नकारात्मक सोचले जीवनमा निराशा प्रदान गर्नुका साथै असफलता निम्त्याउँछ र जीवनमा आउने ऊर्जालाई नष्ट गरिदिन्छ।

नकारात्मक सोच आउन नदिन बच्चा हुर्काउँदादेखि नै विशेष ध्यान दिनुपर्छ। बच्चा बोल्न सक्दैन भने उसलाई बोल्न प्रेरित गर्नुपर्छ। बच्चा चकचक ग¥यो भनेर तर्साउन नकारात्मक कुरा भनेर डर, त्रास देखाउनु हुँदैन। बारम्बार नकारात्मक सोचाइ आउँछ भने योग, ध्यान गर्ने, शान्त वातावरणमा आँखा बन्द गरेर बस्ने गर्नाले विस्तारै नकारात्मक सोचाइ हट्दै जान्छ।

जे कुरामा डर लाग्छ, त्यो कुरालाई सामना गर्नुपर्छ, त्यसो गर्दा पनि नकारात्मक सोच विस्तारै हट्दै जान्छ। आफूलाई जुन कुराले चिन्तित बनाएको छ, त्यो कुरा साथीभाइसँग भन्नाले मन हलुका हुन्छ र विस्तारै नकारात्मक सोच हट्दै जान्छ।

के हो डिप्रेसन ?

मन कमजोर हुने अवस्थालाई डिप्रेसन भनिन्छ । मानसिकरोगका २ प्रकार– कडाखालको मानसिकरोग र सामान्यखालको मानसिकरोगमध्ये डिप्रेसनलाई सामान्यखाले मानसिकरोगमा लिइन्छ । डिप्रेसनपश्चात् मानिसको अधिकांश समय मनमा खिन्नता हुने गर्छ । मानिसलाई यतिवेला उदास तथा दिक्क लागेको अनुभव हुने गर्छ ।

व्यक्तिमा निहित आत्मबल कमजोर हुनु, खुसीको अनुभव नै नहुनु नै डिप्रेसन हो । यो बढ्दै जाँदा मानिसको मनमा नकारात्मक सोचाइ क्रमशः बढ्दै जान्छ । मानिसले डिप्रेसनको अवस्थामा ‘जीवन नै व्यर्थ हो, बाँचेर केही फाइदा छैन’ जस्ता नकारात्मक कुरा सोच्न थाल्छ । यसबाट आत्महत्याको चाहना प्रबल हुँदै जान्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।