नेपाली समाजमा एउटा रमाइलो प्रसंग छ । जब कोही फलफूल बोकेर हिँडिरहेका हुन्छन् ।

छिमेकीले सोध्छन्, ‘होइन, कोहि बिरामी छ ?’

छिमेकीले किनपनि यस्तो आशंका गरे भने तपाईंले फलफूल बोक्नुभएको छ । अर्थात हामी घरमा कोही बिरामी परे फलफूल ख्वाउँछौ । कोही आफन्त, साथीभाई, छिमेकी अस्पतालमा भर्ना भए भने उनलाई भेट्न जाँदा फलफूल, जुस वा स्वस्थ्यवर्द्धक खानेकुरा बोक्छौ ।

जब हामी अस्पताल धाउँछौं छिमेकीले लख काट्छन्, ‘फलानो बिरामी भएछन् ।’ चाहे स्वास्थ्य परीक्षण गर्न होस् वा कुनै परामर्शका लागि, अस्पताल धाउन थालेपछि ‘फलानो रोगी भएछ’ भन्न थालिन्छ ।

कोही जब मर्निङ वाकमा निस्कन थाल्छन् । व्यायाम गर्न थाल्छन् । देख्नेहरु भन्छन्, ‘फलानोलाई पक्कै मधुमेह वा उच्च रक्तचापले छोएछ ।’

यसबाट हाम्रो समाजको मोटामोटी मनोविज्ञान के पाइन्छ भने, बिरामी भएपछि फलफूल खानुपर्छ । यसरी बुझौं, फलफूल भनेको कुरा विरामी वा रोगी भएपछि खाने चिज हुन् ।

फलफूल खानु, व्यायाम गर्नु, दौडनु, नियमित स्वास्थ्य परीक्षण गर्ने आवश्यक्ता त्यसबेला मात्र देख्छौं, जब शरीरमा रोगले ‘हाइ अलर्ट’ जारी गर्छ । अर्थात शारीरिक रुपमा स्वस्थ्य हुँदाहुँदै पनि तपाईंले यस किसिमको दिनचर्या अपनाउनु भयो भने, अनुमान गरिन्छ कि तपाईंमा कुनै रोग छ ।

रोग लागेपछि नै फलफूल खानुपर्छ, अस्पताल जानुपर्छ, मर्निङ वक गर्नुपर्छ भन्ने सोंचकै कारण हामी रोगी हुँदैछौं । जबसम्म रोग लाग्दैन, स्वस्थ्य जीवनशैली अपनाउने आवश्यक्ता देख्दैनौं । फलफूल खाने, व्यायाम गर्ने जरुरत ठान्दैनौ ।

यसबाट प्रष्ट के हुन्छ भने, जुन ढंगको जीवनशैली अपनाउनुपर्ने हो, त्यसको ठिक विपरित उभिएका छौं ।

अर्थात फलफूल सेवन गर्दैनौं । व्यायाम गर्दैनौं । मर्निङ वाकमा निस्कदैनौ । नियमित स्वास्थ्य परीक्षण गर्दैनौ । मनलाग्दो जीवनशैली अपनाउँछौं । मनलाग्दो खान्छौं । मनलाग्दो सुत्ने-उठ्ने गर्छौं । यहि कारण हामी रोगी हुन्छौं । जब रोगले गाँज्न थाल्छ, तब मात्र आफ्नो जीवनशैली परिवर्तन गर्ने अभ्यास गर्छौं ।

रोगी वा कुनै शारीरिक समस्या लिएर बाँच्नुलाई जीवन होइन, पीडाको एउटा अवस्था भनिएको छ । हामी अहिले यस्तै पीडाको अवस्थामा गुजि्रएका छौ । शरीरमा केही न केह रोग छन् । दिनहुँ केही न केही औषधी खाएकै छौ । अस्पताल धाइरहेका छौं ।

भनौ, जीवनको एउटा पाटो औषधी, उपचार, दुःख-विराममै सिध्याइरहेका छौं ।

के हामी पूर्ण स्वस्थ्य, निरोगी, तन्दुरुस्त जीवन विताउन सक्दैनौ ? के हामी कुनै औषधी सेवन नगरी, अस्पतालको चक्कर नलगाई खुसीपूर्वक जीवन काट्न सक्दैनौ ?

अहिलेको अवस्थामा यस्तो निरोगी, तन्दुरुस्त र सुखी जीवनको परिकल्पना गाह्रो हुन थालेको छ । र, यसमा दोष हाम्रै छ । हाम्रो आनीबानी, सोच-चिन्तन, दैनिकी, खानपान नै त्यो कारण हो, जसले हाम्रो शरीरलाई रोगहरुको भण्डार बनाउँदैछ ।

अतः स्वस्थ्य र निरोगी जीवनका लागि हामीले त्यही कुरा त्याग्नुपर्छ, जसलाई अहिलेसम्म अंगाल्यौ ।

१. खानामा सन्तुलन

खाना नै शरीरका लागि सम्पूर्ण पौष्टिक तत्वको स्रोत हुन् । जस्तो खान्छौं, हाम्रो स्वस्थ्य त्यस्तै हुन्छ । त्यसैले पोषणयुक्त, सन्तुलित र सुपाच्य खानेकुरा शरीरको आवश्यक्ता हो । जिब्रोलाई प्राथमिकता दिएर शरीरलाई रोगी बनाउनु हुँदैन ।

त्यस्ता खानालाई पूर्णत बन्देज गर्नुपर्छ, जो स्वस्थ्यका लागि हीतकर छैन । अस्वस्थ्यकर खाना हामीलाई मिठो लाग्छ । जिब्रोको चक्करमा परेर हामी खराब खानपान गर्न पुग्छौ । यस्तो बानीलाई त्याग्नुपर्छ ।

२. दिनचर्या सन्तुलित राखौ

हामी दिनभर के गर्छौ, कसरी गर्छौ, यसले पनि स्वास्थ्यमा प्रभाव पार्छ । हामी आफुलाई मनलाग्दो ढंगले दिनचर्या व्यतित गरिरहेका हुन्छौ । जतिबेला सुत्न मन लाग्यो, सुत्यो । जतिबेला उठ्न मन लाग्यो, उठ्यो । हामी कति अनुशासनहिन छौ ?

खासमा निरोगी जीवन विताउने हो भने दिनचर्या सन्तुलित र अनुशासित हुनुपर्छ । एउटा निश्चित तालिका अनुसार सुत्ने, उठ्ने, खाने, व्यायाम गर्ने, नुहाउने आदि गर्नुपर्छ । किनभने शरीरलाई सन्तुलित ढंगले डोहोर्‍याउनुपर्छ ।

दिनभर सक्रिय रहने । सकारात्मक रहने । शारीरिक क्रियालाई जोड दिने । एकै स्थानमा लामो समय नबस्ने । सही समयमा खानेकुरा खाने जस्ता गतिविधिले शरीरलाई निरोगी बनाउँछ ।

विहान चाडै उठ्नु र राती चाडै सुत्नु राम्रो मानिन्छ । स्वस्थ्य रहनका लागि हरेक दिन सूर्योदयअघि उठ्नुपर्छ । सूर्योदयको दृश्य हेर्नुपर्छ । राती खाना खानसाथ सुत्नु हुँदैन । खाना खाएको दुई वा तीन घण्टापछि मात्र सुत्नुपर्छ ।

३. ऋतुचार्यको नजरअन्दाज नगरौ

ऋतुचार्यको अर्थ ऋतु अनुसार जीवनलाई डोहोर्‍याउनु हो । अर्थात प्राकृतिक परिवर्तनलाई आत्मसात गर्नुपर्छ । प्रकृतिले हामीलाई यस्तो सन्देश दिइरहेको हुन्छ कि हामीले प्रकृतिको हिसाब अनुसार आफु स्वय्मलाई परिवर्तन गर्नुपर्छ । जाडो, गर्मी, झरी प्रकृतिमा जब ऋतु परिवर्तन हुन्छ, तब हामी स्वयम् परिवर्तनका लागि तयार हुनुपर्छ ।

जसरी ऋतु बदलिएसँग प्रकृतिमा बदलाव देखिन्छ, त्यही अनुसार हाम्रो खानपान, रहनसहन, दिनचर्या, योगासनमा परिवर्तन ल्याउनुपर्छ । प्रकृतिले हरेक ऋतु अनुसार फल, सब्जी, खानेकुरा बनाएको छ । कुनै अन्य ऋतुमा उत्पादन हुने खानेकुरा अर्को ऋतुमा खानुहुँदैन ।

त्यसैगरी स्टोरेज गरिएको, बेमौसमी खानेकुरा पनि शरीर मैत्र हिुँदैन ।

४. योगासन अपनाएर स्वस्थ जीवन

आज योगाले हाम्रो जीवनमा एक प्रमुख योगदान दिइरहेको छ । योग गर्नु आज हाम्रो जीवनको अंग बनेको छ । योग त्यस्तो व्यवस्थित शारीरिक कर्म हो, जसले शरीरलाई स्फूर्ति र निरोगी राख्छ । साथसाथै मनलाई सकारात्मक र शान्त पनि ।

ऋतुचार्य अनुसार नै योगासन र मुद्राको अभ्यास गर्नुपर्छ । योगासँग मुद्राको अभ्यासले पनि राम्रो गर्छ । स्वास्थ्यका लागि मुद्राको अभ्यास पनि एकदम जरुरी छ । जस्तो प्राण मुद्रा, पृथ्वी मुद्रा, वायु मुद्रा, हृदय मुद्रा, सूर्य मुद्रा ।

५. सकारात्मक सोच

मन र शरीरको सम्बन्ध आपसमा जोडिएको हुन्छ । मनको अवस्थाले स्थुल शरीरमा असर गर्छ । जस्तो हामी डराएको छौं । डर एक भावनात्मक अवस्था हो । डराउनु भनेको मनमा भय पैदा हुनु हो । तर यसको असर शरीरमा पर्छ । हाम्रो शरीर काप्न थाल्छ ।

एवं हिसाबले मनको कुनैपनि अवस्थाले शरीरलाई सोझो प्रभाव पारिरहेको हुन्छ । त्यसैले त मन जति प्रफुल्ल, जति सकारात्मक, जति शान्त हुन्छ, शरीर पनि उत्तिकै राम्रो हुन्छ ।

सकारात्मक सोंचका लागि शारीरिक क्रिया पनि गर्न सकिन्छ । प्राणायम विधी, भ्रमरी जस्ता अभ्यासले मनमा सकारात्मक भाव पैदा हुन्छ । बेलाबखत लामो सास लिने र छाड्ने अभ्यासले पनि मनलाई शान्त तुल्याउँछ ।

६. खुलेर हाँस्ने प्रयास गरौ

हाँस्नका लागि खर्च गर्नुपर्दैन । न बल नै खर्च हुन्छ, न पैसा । हाँस्ने कुरा हामीबाट स्वतस्फूर्त प्रकट हुन्छ ।

हाँस्नु आफैमा प्राकृतिक उपचार हो । जब हामी मन खोलेर हाँस्छौं, त्यसले शरीर र मनलाई आनन्दित तुल्याउँछ । शरीरका भित्री अंगहरुको कार्य संचालनलाई सुचारु गराउँछ ।

गंभीर रहने, भावुक हुने, चिन्तित हुने जस्ता कुराले शरीरलाई पनि हानी गर्छ ।

हाँस्नु भनेको आफुलाई खुसी तुल्याउनु मात्र होइन, शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनु पनि हो । खुलेर हाँस्ने बानीले पाचन यन्त्रलगायत शरीरका भित्री अंगहरुमा प्रत्यक्ष प्रभाव पार्छ ।

७. तन र मन सन्तुलित राखौ

सन्तुलित आहार, आसन व्यायाम र अन्य तरिका अपनाएर मात्र पूर्ण रुपमा निरोगी जीवन पाइदैन । मन र शरीरलाई पनि तपाईंले आनन्दित तुल्याउनुपर्छ । साथै राम्रो स्वास्थ्इका लागि शारीरिक र मानसिक श्रम पनि आवश्यक छ । किनभने बिना शारीरिक श्रम स्वास्थ्य राम्रो हुन्दैन । त्यस्तै मानसिक रुपले पनि क्रियाशिल हुनुपर्छ । सक्रिय हुनुपर्छ । तन र मन नै स्वस्थ्य राख्नुपर्छ ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

रोगी भएर उपचार गर्नु उपयुक्त कि रोग लाग्नै नदिनु ?

पक्कै पनि तपाईंको मनले दोस्रो विकल्प सर्वोत्तम मान्नेछ । तर, तपाईंको जीवनशैली पहिलो विकल्पमै अल्भिmएको छ । अर्थात जब रोगले च्याप्छ, तबमात्र उपचारको खोजीमा दौडनुहुन्छ ।

सोच्नुहोस् त, तपाईं एक जनालाई रोग लाग्छ । तर, त्यसले तपाईं एक्लोलाई मात्र दुःख दिदैन । सबै घर-परिवारले तनाव झेल्नुपर्छ । घरमा कुनै सदस्य विरामी भए सम्पूर्ण परिवारको मनस्थिती बोझिलो हुन्छ । कसैले पनि उमंगमय ढंगले आफ्नो काम गर्न सक्दैन ।

अर्कोतिर तपाईंको दैनिकी प्रभावित हुन्छ । भनेजस्तो वा सोचेजस्तो काम गर्न पाउनुहुन्न । अस्पताल धाउने, परीक्षण गर्ने, उपचार गर्ने, औषधी सेवन गर्ने चक्करमा तपाईं गल्दै र थाक्दै जानुहुन्छ ।

यता आर्थिक बोझ पनि थपिन्छ । एकातिर तपाईं आयआर्जनको काममा सहभागी हुनुभएको छैन । परिवारका लागि त्यसैपनि बोझ भयो । अर्कोतिर तपाईंको उपचारका लागि लाग्ने खर्चले व्यायभार बढाइदिन्छ ।

रोग लागिसकेपछिको अवस्थामा कसरी तपाईं र समग्र तपाईंको परिवारले पीडा झेल्नुपर्छ भन्ने कुराको उदाहरण मात्र हो यो । तर, यस्ता संभावित खतराबारे हेक्का हुँदा हुँदै पनि हामी खराब जीवनशैली अपनाउँछौं । जुन खान नहुने हो, त्यही खान्छौं । जे नगर्नुपर्ने हो, त्यही गर्छौं । हामी मनलाग्दो ढंगले यावत् कुरा गर्छौं र दोष चाहि रोग वा शरीरलाई दिन्छौं ।

रोग त्यसै लागेको होइन । त्यसमा तपाईंको कमजोरी आवश्य छ । तपाईंले रोग प्रतिरोधात्मक शरीर निर्माणका लागि कुनै प्रयास गर्नुभएको थियो ?

सुपाच्य र सन्तुलित भोजन गर्नुभएको थियो ? नियमित व्यायाम गर्नुभएको थियो ? सकारात्मक सोंचको विकास गर्नुभएको थियो ? सक्रिय जीवनशैली अपनाउनुभएको थियो ?

यी प्रश्नहरुको जवाफ नकारात्मक आउन सक्छ । त्यही कारण रोग लाग्यो । थला परियो । औषधी गर्नुपर्ने भयो । अस्पताल धाउनुपर्ने भयो । औषधी-उपचारमा पैसा सकियो ।

निरोगी अवस्थामा, शारीरिक रुपले तन्दुरुस्त भएको बेला हामीले शरीरलाई रोग प्रतिरोधात्मक बनाउन सक्छौं । यसका लागि केही गर्न पर्दैन । केवल जीवनशैली स्वस्थ्य र सन्तुलित राखे पुग्छ ।

यस्तो खानापान गरौं, जसले पाचन यन्त्रलाई सहज बनाउँछ । सजिलै पच्छ । साथसाथै शरीरलाई पोषण पनि आपूर्ति गर्छ । सन्तुलित र सुपाच्य खानेकुरा सेवन गरौं । खाना खाने समय नियमित गरौं । थोरै थोरै तर धेरै पटक खाने बानी गरौं ।

बिहान चाडै उठ्ने, चाडै सुत्ने गरौं । सुत्ने र उठ्ने तालिका नियमित गरौं । रातमा कम्तीमा सात वा आठ घण्टा मस्त सुतौं ।

सक्रिय दिनचर्या अपनाऔं । बिहान उठेर योग गरौं । मर्निङ वाक गरौं । व्यायाम गरौं । ध्यान गरौं । दिनभर पनि शारीरिक रुपमा केही न केही गरौं । सक्रिय जीवनशैली अपनाऔं ।

मनको शुद्धिकरण गरौं । मनको विकारले तनलाई असर गर्छ । शरीर र मनको सम्बन्ध नङ र मासुको जस्तै हुन्छ । जब तपाईं मानसिक रुपले तनावमा हुनुहुन्छ, त्यसको असर मुटुमा पर्छ । जब तपाईं भयाभित हुनुहुन्छ, डरको अवस्थामा हुनुहुन्छ, तनावको अवस्थामा हुनुहुन्छ, मुटुको गति बढ्छ । स्वासप्रश्वास प्रक्रिया अनियमित हुन्छ । यसले गर्दा शरीरको काम नियमित र चुस्त हुँदैन । रोगले आक्रमण गर्छ ।

त्यसैले शरीरलाई सक्रिय राख्ने, खानपान सन्तुलित र सुपाच्य गर्ने साथसाथै मनलाई शान्त, सकारात्मक पनि राख्ने । यस किसिमको जीवनशैलीले हामीलाई अस्पताल धाउनुपर्ने वाध्यताबाट मुक्त गर्छ ।

नोट : तर कुनै जटिल स्वास्थ्य समस्या आउँदा र औषधि किनेर सेवन गर्नुपर्दा चिकित्सक एवंम स्वास्थ्यकर्मीहरूसँग सल्लाह गर्न जरुरी छ । आयुर्वेदिक औषधिहरू प्रयोग गर्दा खानपानलाई पनि ध्यान दिनु जरुरी छ ।

मधुमेह, उच्च रक्तचाप र अन्य जीर्ण रोगीहरूले आहारविहारलाई ध्यान नराखी औषधि वा जडीबुटीको धुलो मात्र सेवन गर्दा प्रभावकारी हुँदैन । जडीबुटीको विश्वासमा परेर धेरै दिनसम्म खुला रहेका, म्याद नाघेका र गन्ध एवं स्वाद बिग्रेका औषधि प्रयोग गर्दा नकारात्मक असर पर्न सक्छ ।

तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग हुनेछ । धन्यवाद ।