कुकुरलाई मानव सभ्यतामा मान्छेले सबै भन्दा पहिले घरपालुवा बनाएको मानिन्छ ।

धर्म शास्त्रहरुमा पनि कुकुरको महिमा बेग्लै छ । महाभारतमा कुकुरलाई युधिष्टिरसँगै स्वर्गमा जिउँदै पुगेको एकमात्र जनवारका रुपमा लेखिएको छ ।

वैज्ञानिकरुपमा तथ्य र प्रमाणहरुको आधार केलाउँदा पनि कुकुर भन्दा पहिले मानिसले घरपालुवा बनाएको कुनै पनि अर्को जनवार भेटिएको छैन तर कुकुर कहिलेदेखि घर पालुवा जनवार भयो भन्नेमा चै वैज्ञानिकहरु पनि एक मत छैनन् ।

सन् २०१७ मा प्रकाशित एक अध्ययनले २० देखि ४० हजार बर्ष पहिले ब्वाँसोलाई घरपालुवा बनाउँन थालिएको दाबी गरिएको छ । त्यस्तै अर्को दाबी अनुसार तत्कालिन जंगली ब्वाँसो मानिसलाई आक्रमण गर्दा ब्वाँसो घाइते भएको र उसलाई कुनै दयालु मानिसहरुको समूहले पालेर त्यसका पुस्ताहरु विस्तारै मानिसप्रति वफादार हुन थालेको हो ।

यस्तै वैज्ञानिकहरुको अर्को दाबी के छ भने कुकुरलाई मानिसले घरपालुवा बनाएको नभएर कुकुर स्वयम मानिसहरुको नजिक हुन थालेको थियो । मानिसहरुको उब्रेको रहलपहल खान मानिसको पछि लाग्दा लाग्दै कुकुर मानिसप्रति वफादार हुन थालेको हो ।

यस्ता दाबी जे भए पनि कुकुर र मानिसको सम्बन्ध एकदमै रोचक छ । कुकुर मानिसका लागि आफ्नै हातले बनाएको रोबोट जस्तो देखिन्छ । यस्तै रोचक तथ्य भर्खर सार्वजनिक भएको छ ।

रुसको सबै भन्दा चिसो स्थान साइबेरियामा छाउरो कुकुरको एउटा लाश भेटियो । जसको शरिरमा दाँत र भुत्लाहरु जस्ताको तस्तै थिए ।

कार्बन डेटिङबाट त्यसलाई परिक्षण गर्दा एउटा अचम्मको तथ्य सार्वजनिक भएको छ । अनुसन्धानकर्ताहरुले सो कुकुर १८ हजार बर्ष पुरानो ४ महिनाको भएको पत्ता लगाए ।

अझ रोचक कुरा के हो भने, सो कुकुरको वास्तविक प्रजाति के हो भन्ने पत्ता लाग्न भने सकेको छैन । अहिले सम्म डिएनए प्राप्त गरिएका कुकुर र कुकुरका वंशज मानिएका ब्वाँसोसँग पनि यसको डिएनए मिलेन ।

वैज्ञानिकहरुले यसको अनुसन्धान सघनरुपमा अगाडी बढाइरहेका छन् तर हिउका कारण नकुहिएर जस्ताको तस्तै रहेको यो जीव ब्वाँसो र कुकुरबिचबाट जन्मिएको हुन सक्ने अनुमान भने गरेका छन् ।

यो प्रारम्भिक अनुमान मात्रै हो । अब यसबारे थप अनुसन्धान गरे पछि नयाँ तथ्यहरु सार्वजनिक हुने नै छन् ।

स्विडेनका अनुसन्धानकर्ता डेभ स्टान्टनले सीएनएनलाई कुकुर र ब्वाँसो दुवै प्रजातिको साझा पुर्खा हुन सक्ने बताएका छन् । यो कुकुर मर्दा २ महिनाको रहेको पाइएको छ । रेडिओकार्बन प्रविधिबाट छाउरोको मृत्यु हुँदाको उमेर र कति समय यो हिउँमा रह्यो भन्ने कुरा पत्ता लागेको हो । यहि प्रबिधिको प्रयोगबाट कुकुरको उमेर पत्ता लागेको हो ।

त्यो मृत छाउरोको अहिले डगर नाम राखिएको छ । स्थानिय भाषामा डगरको अर्थ साथी भन्ने हुन्छ ।

हामीले घरमा पाल्ने कुकुरका बारेमा रोचक तथ्य पढ्नुहोस्

यदि तपाईंको घरमा कुकुर छ वा कुकुर राख्ने विचार गर्दै हुनुहुन्छ भने तपाईंको लागि थप खुसीको कुरा छ । घरपालुवा जनावरमध्ये कुकुर धेरैको प्रिय बनेको छ। घर पुग्दा पुच्छर हल्लाउँदै ढोकासम्म आउने र पछ्याउने विशेषताले पनि धेरैले कुकुरलाई घरमा राख्न मन पराउँछन् ।

अमेरिकाको बार्कपोस्टले घरमा कुकुर पाल्नुका फाइदाबारे वैज्ञानिक रुपमा प्रमाणित केही तथ्य सार्वजनिक गरेको छ ।

१. मुड राम्रो बनाउँछ

तपाईंको कुकुरसँग १५ देखि ३० मिनेट समय बिताउनाले तनाव घट्न गई खुसी बढ्छ । कुकरसँग खेल्नाले मस्तिष्कमा डोपामाइन र सेरोटोनिनको मात्रा बढाउँछ, जुन खुसी र शान्तिसँग सम्बन्धित छ । कुनैबेला तपाईंले निराश महसुस गर्नुभयो भने कुकुरसँग केही समय बिताउनुहोस् । कुकरले हल्लाउने पुच्छरले पक्कै पनि तपाईंको अनुहारमा मुस्कान थप्नेछ ।

२. कार्डियोभास्कुलर रोगको जोखिम घटाउँछ

अध्ययनहरुले घरमा भएको कुकुरसँग कुराकानी गर्दा र खेल्दा रक्तचाप घटाउन सहयोग पुग्छ, जसले गर्दा मुटुसम्बन्धी रोगहरुको जोखिम कम हुन्छ ।

३. कुकुरले बच्चालाई हुनसक्ने छालाको रोग र एलर्जीबाट जोगाउन सहयोग गर्छ

घरमा बिरालो हुने वा कुकुर नहुने बालबालिकाको तुलनामा कुकुरसँग खेल्दै हुर्किने बालबालिकालाई लुतो हुने सम्भावना कम हुन्छ । साथै, उनीहरुलाई घरपालुवा जनावरसँग हुने एलर्जी पनि कम हुन्छ ।

४. कुकुरले शारीरिक स्वस्थतालाई सुधार गर्छ र स्वस्थ दैनिकीलाई प्रोत्साहन गर्छ

कुकुरलाई दैनिक रुपमा कसरतको आवश्यकता पर्दछ । मानिसलाई पनि दैनिक व्यायामको खाँचो हुन्छ । हामीले बिहान कुकर डुलाउनेहरु पनि पर्याप्त देखेका छौं। कुकर पाल्नेहरुले कुकुरहरुसँग खेल्ने र काम गर्ने जिम्मेवारी पनि बहन गर्छन्, जसले गर्दा कुकुर पाल्ने व्यक्तिहरु तुलनात्मक रुपमा बढी सक्रिय हुन्छन् ।

५. कुकुर भएका मानिसहरु बिरामी भएमा चाँडै निको हुन्छन्

कुकुर पाल्ने व्यक्तिहरु नपाल्नेको तुलनामा रोगबाट चाँडै निको हुन्छन् । हृदयघात भएका व्यक्तिहरुमध्ये कुकुर पाल्नेहरु पूरै निको हुने सम्भावना दुई गुणा हुने देखिएको छ ।

६. कुकुर भएको घरका बालबालिकाले कम मात्रामा विद्यालय छुटाउँछन्

कुकुर भएको घरका बालबालिका कुकुर नभएकाको तुलनामा धेरै विद्यालय जान्छन् । यसको कारण घरमा कुकुर भएको बालबालिकाहरु कम विरामी हुनु हो । त्यस्तै, घरमा कुकुर हुँदा बालबालिकाको आत्मविश्वास समेत बढ्ने र तनावलाई सम्हाल्न सक्ने क्षमता पनि बढ्ने अध्ययनले देखाएका छन् ।

७. कुकुर मानिसको सबैभन्दा राम्रो साथी हो

सुँघ्न सक्ने, हेर्नसक्ने र सुन्नसक्ने उच्च क्षमताका कारण कुकुरलाई बौद्धिक जनावरको रुपमा लिइन्छ । मानिसप्रतिको बफादारिताले पनि कुकुर मानिसको प्रिय बनेको छ । कुकुरले आफ्ना मालिकहरुको शरीरको भाषा, संवेदना र भावना राम्रोसँग बुझ्नसक्छ, जसले गर्दा एक अटुट बन्धन बन्छ ।

८. तिनीहरु उत्कृष्ट पहरेदारहरु हुन्

सानो उमेरदेखि नै कुकुरहरुले तपाईंको बाटोमा आउने असहज कुराहरुलाई अवलोकन गर्न र त्यसबाट सचेत हुन सिकेका हुन्छन् । सम्भावित चोरहरुलाई भुकेरै कुकुरले धपाउने गर्छन् । रोटवेलर्स, जर्मन सेफर्ड र स्कटिस टेरियर्स जातका कुकुरहरु शीर्ष पहरेदार जातमा गनिन्छन् ।

९. कुकरले सामाजिक अन्तर्त्रि्कया बढाउन सहयोग गर्छन्

हो, कुकरलाई हेरचाह र मानिससँग खेल्ने समयमात्र नभई अन्य कुकुरसँग सामाजिकीकरण हुने समय पनि चाहिन्छ । यसले गर्दा कुकुर पाल्ने मानिसहरुले पनि एकअर्कासँग सामाजिकीकरणको अवसर प्राप्त गर्छन् ।

१०. कुनै दिक्कलाग्दो क्षण नै हुँदैन

के तपाईंलाई घरमा बस्दा दिक्क लागेको छ र के गर्ने भनेर सोच्नुभएको छ? तपाईंले कुकुरको साथमा गर्न सक्ने धेरै कुराहरु छन् । तपाईंले कुकुरलाई घुमाउन लैजान सक्नुहुन्छ वा घुमाउन लैजाने समय छैन भने उसलाई कुनै खेलौना दिएर त्यो चपाएको हेरेर बस्न सक्नुहुन्छ । त्यो रमाइलो क्षण हुनसक्छ ।

११. कुकरले तपाईंको जीवन बचाउन सक्छ

प्रिय साथी कुकुरले हाम्रो शरीरमा भएको क्यान्सरको गन्ध पत्ता लगाउन सक्छ । कुकरले मानिसको शरीरको विभिन्न भागमा सुघेर वा चाटेर क्यान्सर भएको पत्ता लगाएको धेरै उदाहरण छन् । खासमा, मानिसले यो कुरा पत्ता लगाएदेखि कुकुरहरुलाई ३ घन्टामा क्यान्सर भएको पत्ता लगाउने तालिमसमेत दिइएको छ ।

१२. तपाईंसँग कुकुर हुनुको अर्थ तपाईं थप राम्रो हुनुहुन्छ

घरमा कुकुर हुनुसँगै आउने जिम्मेवारी, धैर्यता, सहयोगीपना र प्रतिवद्धताले हामीलाई अन्य मानिसको अगाडि थप बलियो र राम्रो देखाउँछ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।