चिनियाँ निकायहरूका अनुसार एउटा रहस्यमय भाइरसका कारण दुई दिनमा १३९ वटा नयाँ सङ्क्रमणका घटना देखिएका छन् ।

योसँगै पहिलो पटक उक्त भाइरस चीनमा वुहानभन्दा बाहिर फैलिएको प्रमाणित भएको छ। बेइजिङ र सेन्जेनमा पनि उक्त भाइरसको सङ्क्रमण देखिएको छन् ।

दक्षिण कोरियामा समेत सोमवार कोरोनाभाइरससँग जोडिएको सङ्क्रमण देखा परेको थियो । जापान र थाइल्याण्डमा पनि सङ्क्रमण भएका छन् ।

सङ्क्रमण

अहिलेसम्म पुष्टि भएका सङ्क्रमणको सङ्ख्या २०० नाघेको छ र श्वासप्रश्वाससँग जोडिएका सङ्क्रमणका कारण तीनजनाको मृत्यु भइसकेको छ।

स्वास्थ्य अधिकारीहरूले वुहानमा शुरूमा गएको डिसेम्बर महिनामा देखिएको यो सङ्क्रमणमा कोरोनाभाइरस देखिएको उल्लेख गरेका छन् ।

वैज्ञानिकहरूले उक्त भाइरसबाट निमोनियाको सङ्क्रमण देखिने भन्दै धेरै सङ्क्रमण अझै थाहा हुन नसकेको हुनसक्ने बताएका छन् ।

युकेमा रहेका विज्ञहरूले संङक्रमितहरूको सङ्ख्या सार्वजनिक गरिएका विवरणभन्दा ठूलो हुनसक्ने जनाएका छन्।

उनीहरूले त्यो संख्या १,७०० आसपास रहेको उल्लेख गरेका छन् ।

यसै हप्ताको चिनियाँ नयाँ वर्षका अवसरमा लाखौं व्यक्तिहरू आफ्ना परिवारलाई भेट्न आवतजावत गर्ने क्रममा अनुगमनमा कडाइ गर्ने चीनले वाचा गरेको थिए।

को सङ्क्रमित भएका छन् ?

वुहानका अधिकारीहरूले १३६ वटा सङक्रमणका नयाँ घटना पुष्टि भएको र थप एक जनाको मृत्यु भएको चिनियाँ अधिकारीहरूले बताएका थिए।

आइतवार अबेरसम्ममा गम्भीर अवस्थामा रहेका नौसहित १७० जनाको वुहानमा उपचार भइरहेको अधिकारीहरूले बताएका छन्।

वुहानको भ्रमण गरी फर्किएका दुई जनाको बेइजिङस्थित एउटा जिल्ला अस्पतालमा निमोनियाको उपचार भइरहेको जनाइएको छ।

उक्त भाइरसको सङ्क्रमण अन्य देशसम्म पनि पुग्न थालेको छ। थाइल्याण्ड र जापानमा देखा परेको सङ्क्रमणमा वुहानको यात्राबाट फर्किएका मानिसहरूसँग जोडिएको छ।

सोमबार दक्षिण कोरियाले उक्त भाइरसको सङक्रमण आफ्नो देशमा पनि फेला परेको बताएको छ।

ज्वरो र श्वासप्रश्वाससम्बन्धी समस्याका कारण स्थानीय अस्पतालमा भर्ना भएकी एक ३५ वर्षीया महिला वुहानबाट फर्किएकी थिइन र उनको उपचार भइरहेको छ।

अधिकारीहरू के भन्छन् ?

चीनको राष्ट्रिय स्वास्थ्य निकायले उक्त भाइरसलाई अझै पनि रोकथाम र नियन्त्रण गर्न सकिने अवस्था रहेको जनाएको छ।

उक्त निकायले भाइरसको श्रोत, फैलावट र डीएनएमा देखिएका परिवर्तनका विधि अझै अस्पष्ट रहेको उल्लेख गरेको छ।

विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओले जनावरबाट उक्त भाइरस उत्पत्ति भएको हुनसक्ने उल्लेख गर्दै केही मानवमा सो सङ्क्रमण फैलिएको जनाएको छ।

थप अध्ययनपछि मात्रै उक्त सङ्क्रमण फैलनुको कारण प्रष्ट हुने उसको भनाइ छ।

कोरोनाभाइरसको जोखिम कम गर्न असुरक्षित जनावरहरूसँग सम्पर्क नराख्ने, मासु र अण्डालाई पूरा पकाएरमात्रै खानुपर्ने र रुघाखोकीको सङ्केत देखिएका बिरामीसँग नजिकै नबस्न सुझाव दिइएको छ।

यो भाइरस के हो ?

बिरामीबाट सङ्कलन गरिएको र चीन तथा डब्लुएचओका प्रयोगशालामा परीक्षण गरीएका नमुनाहरूले कोरोनाभाइरसले सङ्क्रमण निम्त्याएको प्रमाणित गरेका छन् ।

कोरोनाभाइरस भाइरसहरूको ठूलो समूहको एउटा सदस्य हो। योसँगै मानवलाई सङ्क्रमित गर्ने भाइरसको सङ्ख्या सात पुगेको छ।

कोरोनाभाइरसका कारण रुघाखोकीको समस्या देखिने गर्छ तर श्वासप्रश्वाससम्बन्धी गम्भीर सङ्क्रमण सार्स पनि कोरोनाभाइरसले नै निम्त्याएको थियो ।

सन् २००२ मा चीनमा सार्सले ७७४ जनाको ज्यान लिएको थियो भने ८,०९८ जनालाई संङक्रमित गरेको थियो ।

वुहानमा देखिएको नयाँ प्रकारको कोरोनाभाइरस यसअघि मानवमा नदेखिएको भाइरस हो ।

यसको अनुवंशिक अध्ययनले नयाँ भाइरस सार्ससँग निकट रहेको देखाउँछ ।

कोरोनाभाइरस जनावर र मानिसबीच सर्ने भाइरस हो ।

पहिचान भएका थुप्रै अन्य कोरोनाभाइरस जनावरमा देखिए पनि तिनले मानिसलाई सङ्क्रमित बनाएका छैनन् ।

हामीले याे समचार बी बी सी बाट लिएकाे हाे

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

मानिसलाई बिरामी बनाउने भाइरस कुन समयमा बढी सक्रिय हुन्छ ? जानीराखाै

भाइरस अन्य समयको तुलनामा बिहान १० गुणा सक्रिय हुने एउटा पछिल्लो अध्ययनले देखाएको छ । भाइरसले विहान संक्रमण गरेमा अन्य समय भन्दा १० गुणा बढी सफल हुने युनिर्भसिटी अफ क्याम्ब्रिजको अध्ययनमा उल्लेख छ ।

शरिरको जैबिक घडीमा हुने असरले संक्रमणको जोखिम बढ्ने मुसामा गरिएको सो अध्ययनमा उल्लेख छ । अध्ययनले भाइरसको महामारी रोक्न एउटा नयाँ उपाय प्रदान गर्ने अनुसन्धानकर्ताहरुले विश्वास गरेका छन् ।

अध्ययन अनुसार विहान इन्फ्लुयन्जा संक्रमित मुसामा साँझ संक्रमित भएको भन्दा १० गुणा बढी भाइरसको मात्रा देखिएको थियो ।

‘यो निकै ठूलो अन्तर हो,’ अध्ययन टोली सदस्य अखिलेश रेड्डीले भने ।

‘भाइरसलाई पनि संक्रमण गर्न उचित समय चाहिँदो रहेछ । नत्र भने ऊ गतिशिल हुन सक्दो रहेनछ। तर सानो भन्दा सानो संक्रमण बिहान सक्रीय हुन्छ र बिहान भाइरसले शरिरलाई छिट्टै नियन्त्रणमा लिन्छ,’उनले भने । अध्ययनले रोगका महामारी नियन्त्रण गर्न सहयोग गर्ने उनले विश्वास गरे ।

‘महामारी भएको क्षेत्रमा बिहान भन्दा दिउसो बस्दा संक्रमणको खतरा घट्ने र मृत्युबाट बच्न सकिन्छ,’ उनले भने ।

जनावरहरुको जैबिक घडी परिवर्तनको अर्थ शरिरले भाइरस संक्रमणका लागि प्रोत्साहन गर्नु वा निम्तो दिनु भएको अध्ययनले देखाएको छ ।

अध्ययन समूहका अर्का वैज्ञानिक र्याचल इडगार भन्छन्, ‘सिफ्टमा राती काम गर्नेको शरिरको जैविक घडी बिथोलिएको हुन्छ । उनीहरुलाई भाइरल रोगको जोखिम बढ्छ।’

अनुसन्धानकर्ताले अध्ययनमा केबल दुई ओटा भाइरसको प्रयोग गरेका थिए ।

आफ्नै शरीरभित्र पनि छ डाक्टर ! ख्याल गर्नु भा छ ?

ज्यानलाई कुनै गडबडी हुनसाथ हामी कहाँ जान्छौ ? डाक्टरकहाँ । हामीलाई विश्वास छ, डाक्टरले नै हाम्रो रोग पत्ता लगाइदिन्छ । उपचार गरिदिन्छ । निको बनाइदिन्छ । सही हो, डाक्टरलाई शरीर विज्ञानको ज्ञान छ । संकेत एवं लक्षणको आधारमा कुन रोग भनी अनुमान गर्न सक्छन् ।

आवश्यक परीक्षणबाट रोगको अवस्था फेला पार्न सक्छन् । कतिपय जटिल रोगको उपचारपछि जब हामी रोगमुक्त हुन्छौ, डाक्टर हामीलाई भगवान लाग्छ । हाम्रा जीवनदाता लाग्छ ।

डाक्टरप्रति कृतज्ञ हुनु अन्याथा भएन । तर, तपाईंले ख्याल गर्नुभएको छ तपाईंको शरीरभित्र पनि डाक्टर छन् । शरीरभित्रको डाक्टरसँग तपाईं परिचित हुनुहुन्छ ? कृतज्ञ हुनुहुन्छ ? आभारी हुनुहुन्छ ?

के गर्छ शरीर भित्रको डाक्टरले ?

तपाईंले आफ्नो शरीरमाथि थोरै खेलबाड गर्नुभयो भने पनि शरीरभित्रको डाक्टरले सर्तक गराउँछ । तपाईंले सानोतिनो गल्ती गर्नुभयो भने पनि शरीर भित्रको डाक्टरले सचेत गराउँछ । शरीर भित्रको डाक्टरले तपाईंलाई स्वास्थ्य जीवन बाँच्नका लागि सहयोग र समर्थन गर्छ ।

तपाईंले जानेर वा नजानेर केही यस्ता काम गर्नुहुन्छ, जसले तपाईंको शरीरलाई दुःख दिन्छ । त्यस्ता काम नगर्न भनेर शरीर भित्रका डाक्टरले नै चेतावनी दिन्छ । त्यती मात्र होइन, कतिपय रोगहरु भित्र भित्रै तपाईंले थाहा नपाई निको बनाइदिन्छ ।

शरीर भित्रको डाक्टरलाई चिन्नुभयो, उनको भाषा बुझ्नुभयो भने तपाईं रोगमुक्त जीवन बाँच्न सक्नुहुनेछ । बाहिरका डाक्टर खोज्दै हिँड्नुपर्दैन । अस्पताल धाउनुपर्दैन । औषधी खानुपर्दैन ।

कसरी थाहा पाउने ?

आफ्नो शरीरभित्र डाक्टर छ भन्ने कुरा कसरी थाहा पाउने ? कुनै जटिल छैन । तपाईंले शरीरभित्रका डाक्टर छ भन्ने कुरा महसुष गरे पुग्छ । अनुभूत गरे पुग्छ ।

तपाईं अलि धुलो-धूँवामा हिँड्नुभयो । त्यसका हानिकारक कणहरु तपाईंको शरीरमा प्रवेश गर्‍यो । अब शरीर भित्रका डाक्टरले त्यसलाई बाहिर निकाल्ने प्रयास गर्छ । त्यही प्रयास हो, हाँच्छ्यु आउनु ।

तपाईंले शरीरलाई प्रतिकुल हुने खानेकुरा खानुभयो । विषाक्त र पोषणरहित खानेकुरा तपाईंको शरीरभित्र प्रवेश गर्‍यो । अब भित्रको डाक्टरले त्यसलाई शरीरबाट बाहिर निकाल्ने प्रयास गर्छ । त्यो प्रयास हो, पखला वा वान्ता ।

तपाईं अति जाडो ठाउँमा पुग्नुभयो । वा जाडो मौसम छ । शरीरलाई बाहिरी वातावरणको तापमानसँग सन्तुलित राख्न सक्नुभएन । यतिबेला पनि शरीर भित्रका डाक्टरले काम गर्छ । तपाईंको शरीरमा कम्पन पैदा हुन्छ । यसले शरीरलाई चलायमान बनाउँछ । शरीरको तापमान बढाउँछ ।

तपाईंलाई असाध्यै गर्मी भयो । घामको राप र तातो हावाले तपाईंलाई खपिनसक्नु भयो । यतिबेला शरीरभित्रका डाक्टरले सितलता खोज्छ । त्यही कारण शरीरमा पसिना आउँछ । पसिनाले शरीरलाई सितल बनाउँछ ।

यसरी शरीर भित्रको डाक्टरले तपाईंलाई साथ दिन्छ । साथै शरीरमा कुनै गडबडी भएको जनाउ पनि दिन्छ । तपाईंलाई सूचित पनि गर्छ ।

तपाईंको शरीरमा धुलो-धूँवाको कण प्रवेश गर्‍यो वा धेरै चिसो लाग्यो । रुँघा लाग्छ । तपाईंको शरीरको कुनै अंगमा समस्या भयो, ज्वरो आउँछ । ज्वरो आउनु आफैमा रोग होइन । तर, यसले शरीरभित्र केही गडबडी छ भन्ने संकेत गर्छ ।

तपाईंले ख्याल गर्नुभएको छ, धेरैजसो शारीरिक समस्या औषधी नखाई, शल्यक्रिया नगरी आफै ठिक हुन्छ । किन ? किनभने शरीरभित्रको डाक्टरले आफै उपचार गरिदिन्छ । तपाईंको शरीरमा चोट लाग्यो । औषधी लगाउनुभएन वा लगाउन पाउनुभएन । त्यो चोट त्यतीकै रहन्छ ? रहँदैन । विस्तारै जाती हुन्छ । कसरी ? शरीर भित्रका डाक्टरले त्यसको उपचार गर्छ ।

को छ शरीरभित्र ?

हाम्रो शरीरभित्र वास्तवमै डाक्टर छ । त्यो डाक्टर नै हो शरीरको कार्यप्रणाली संचालन गरिदिने । त्यही डाक्टर हो, जसले शरीरलाई बाह्य रोगबाट सकेसम्म बचाएर राख्छ । त्यही डाक्टर हो, जसले शरीरका कतिपय समस्याबारे जनाउ दिन्छ ।

यो एक प्रणाली हो । हाम्रो शरीरभित्र यस्तो प्रणाली हुन्छ, जसले शरीरलाई निरोगी र तन्दुरुस्त राख्नका लागि हर-संभव प्रयास गर्छ । उक्त प्रणालीले शरीरलाई हानी हुने, दुःख दिने, समस्यामा पार्ने कुनैपनि कुरा सहदैन । नराम्रो कुरालाई शरीरबाट बाहिर निकाल्न खोज्छ । शरीरका अंगहरुलाई सुरक्षित राख्न खोज्छ ।

शरीरलाई निरोगी बनाउने, रोगसँग लड्ने, अंगहरुको कार्यसंचालनमा सघाउ पुर्‍याउने सबै काम उक्त प्रणालीबाट भइरहेको हुन्छ । चुपचाप, चुपचाप । कुनै हल्ला नगरी शरीरभित्रको प्रणालीले हामीलाई निरोगी एवं तन्दुरुस्त राखिरहेको हुन्छ ।

तर, हामी उक्त प्रणालीलाई महसुष गर्दैनौ । शरीरको भाषा बुझ्दैनौ । शरीरभित्रका डाक्टरसँग अन्र्तक्रिया गर्दैनौ । त्यही कारण शरीर भित्रका डाक्टर कमजोर हुँदै जान्छ । पराजित हुँदै जान्छ । तब शरीरभित्र रोगले प्रवेश पाउँछ । हामी रोगी र जिर्ण हुँदै जान्छौ ।

यदि शरीरभित्रको डाक्टरसँग अन्र्तसंवाद गर्ने, उनको भाषा बुझ्ने, उनको आग्रह पालना गर्ने हो भने हामी निरोगी, तन्दुरुस्त, खुसी जीवन बाँच्न सक्छौ ।

आफ्नाे शरीरको भाषा बुझ्नुहोस् ! रोग लाग्दैन

स्वास्थ्य एक अनिवार्य विषय हो र भ्रम जीवनको सत्य । हामी भ्रममा जीवन विताइरहेका हुन्छौं । चिकित्सालाई लिएर पनि हामीमा अनगिन्ती भ्रम हुन्छ । त्यसको निदान खोज्नमा पनि हामी उत्सुक हुँदैनौ । हामी यस्ता कति व्यक्ति भेट्छौ, जो केही न केही भ्रमबाट जेलिएका हुन्छन् । त, स्वास्थ्यका सम्बन्धमा के कस्ता भ्रम हुन्छ त ?

रोग हाम्रो सत्रु हो ?

चिकित्सा क्षेत्रको सबैभन्दा ठूलो भ्रम हो, रोग हाम्रो सत्रु भन्ने । यो भन्दा ठूलो भ्रम केही छै्रन । रोग त हाम्रो मित्र हो । ज्यान लिने रोग क्यान्सर, एड्स, हृदयघात जस्ता रोगको कुरा होइन यो । सामान्य रोग, जस्तो वान्ता, ज्वरो, झाडापखला, रुँघा आदि समस्या शरीरका लागि हानिकारक छैन । यस्ता समस्याले शरीरको विषाक्त तत्व बाहिर निकाल्छ ।

जस्तो हामी जब कुनै दुषित भोजन गर्छौं, तब शरीरले के गर्छ ?

वान्ता हुनसक्छ, झाडापखला लाग्न सक्छ । यो भनेको शरीरभित्र रहेको विषाक्त पदार्थ बाहिर निस्किएको हो । त्यसो भए वान्ता हुनु, झाडापखला लाग्नु शरीरले गल्ती गरेको हो ? यदि हामी खराब खानेकुरा खान्छौं, त्यसमा रहेको विषाक्त तत्व शरीरमा जम्मा हुन्छ । त्यसले भित्री अंगहरुको कार्य संचालनमा अवरोध पुर्‍याउँछ । त्यसैले यस्ता खानेकुरा खाएपछि शरीरले जुन किसिमको प्रतिक्रिया जनाउँछ, त्यो राम्रो हो ।

हामीलाई ज्वरो आउँछ । ज्वरो आउनसाथ हामी दबाई खाएर त्यसलाई दबाउने प्रयत्न गर्छौं । तर, शरीरमा कतिपय असन्तुलन भए, ज्वरो आउँछ । शरीरको तापमान बढ्छ । यसरी तापमान बढ्दा शरीरमा ब्याक्टेरिया वा भाइरसको बृद्धिदर कम हुन्छ । संक्रमणको संभावनालाई कम गर्ने प्राकृतिक उपाय हो । अब सोच्नुहोस् त, ज्वरो हाम्रो सत्रु हो ?

खोकी लाग्नु पनि राम्रै हो । यदि त्यसो नहुँदो हो त हामी हजारौं रुपैयाँ खर्च गरेर पनि फोक्सोको कफ निकाल्न सक्दैनौं । खोकी लाग्नु भनेको फोक्सोको रक्षा गर्नु हो ।

दर्द निर्दयी हुन्छ

अक्सर जब शरीरमा कुनै पीडा हुन्छ वा दुखाई अनुभव हुन्छ, त्यसलाई दबाउनका लागि घातक पेनकिलर सेवन गर्छन् । तर, शरीरका यस्ता दुखाई आफैमा समस्या होइन । बरु संकेत हो ।

यो संकेतले के भन्छ भने, तिम्रो शरीरमा केही गडबड छ । तुरुन्तै उपचार गर्नुपर्छ । हाम्रो शरीरमा रहेको हीलिङ पावरले कतिपय रोगको स्वत् उपचार गरिरहेकै हुन्छ । कतिपय समस्या ठिक गरिरहेकै हुन्छ ।

जब उक्त हिलिङ पावरलाई तपाईंको सक्रियता चाहिन्छ, तब त्यसले संकेत पठाउँछ । ताकि, तपाईं उक्त समस्यालाई ठिक गर्नका लागि सहयोग गर्नुहोस् ।

तर, हामी यस्ता संकेतलाई बुझ्दैनौ र दबाउने प्रयास गर्छौं । कुनैपनि रोग लाग्नुअघि त्यसले संकेत गर्छ । शरीरका अंगमा केही न केही पीडा अनुभूत हुन्छ । यस्ता पीडाले संकेत गर्छ कि हाम्रो शरीरमा केही खराबी हुँदैछ ।

रोगको लक्षण

धेरै चिकित्सक अक्सर रोगको लक्षणको उपचार गर्छन् । अहिलेको चिकित्सा पद्धती त रोगको लक्षणमाथि नै उपचार गर्नमा केन्दि्रत छ । अर्थात शरीरमा कुनै लक्षण देखापर्छ, हाम्रा चिकित्सक त्यसैको उपचार गर्छन् । जबकी लक्षण आफैमा रोग होइन, बरु त्यसले अरु नै रोगको संकेत गरिरहेको हुन्छ ।

हामी लक्षणलाई दबाउँछ । नतिजा, भयानक रोगको शिकार बन्छौं ।

सामान्य कुरालाई रोग ठान्ने

हरेक दिन चिकित्सककहाँ यस्ता रोगी आइरहेका हुन्छन्, जो सामान्य कुरालाई रोग सम्झेर उपचारका लागि भड्किइरहेका हुन्छन् ।

जस्तो कतिलाई दिसा गर्नमा समस्या भइरहेको हुन्छ । हामी भन्छौं, हरेक दिन मल त्याग गर्नुपर्छ, नभए कब्जियत हुन्छ । यो भ्रम हो । जबकी दुई तीन दिनमा एक पटक मल त्याग गर्नु पनि त्यती असामान्य होइन । यो तथ्यलाई नबुझेर मान्छेहरु कब्जियत हटाउने चूर्ण सेवन गरिरहेका हुन्छन् । र, आफ्नो आन्द्रालाई खराब गरिरहेका हुन्छन् ।

कहिले काही सास बढ्न सक्छ, कहिले मांसपेशी दुख्न सक्छ, कहिले आँखा बिझाउन सक्छ । यी सामान्य कुरा हुन् । तर, हामी यसैलाई रोग पो होला कि भनेर डराउँछौं ।

दबाईको कुरा

चिकित्सा क्षेत्रमा एउटा ठूलो भ्रम के छ भने, रोग केवल दबाई अर्थात औषधीले मात्र ठिक हुन्छ । तर, दबाईले भन्दा बढी अन्य कुराले रोग ठिक हुन्छ । जस्तो सकारात्मक सोंच, यात्रा, धार्मिक कार्य, आरम, निद्रा, योगा, कसरत आदि रोगबाट मुक्ति पाउने सर्वोत्तम विकल्प हुन् । चिकित्सकले कुनैपनि रोगको लक्षण हेरर त्यसको औषधी दिन्छन् । उपचारको लागि सिफारिस गर्छन् । तर, शरीरको भाषा फरक हुन्छ । शरीरसँग यस्तो क्षमता हुन्छ, जसले प्राकृतिक रुपमै कतिपय रोग निर्मुल गर्न सक्छ । विभिन्न स्रोतबाट

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।