खानेकुरा सम्पूर्ण जीवनका लागि अपरिहार्य वस्तु हो, एउटा नैसर्गिक अधिकार पनि हो। तर, आज आएर यही अपरिहार्य वस्तुको गुणात्मक आवश्यकता बदलिएको छ। मानिसलाई खानेकुराभन्दा पनि स्वच्छ खानेकुराको आवश्यकता छ। जब हामीले खाने वस्तुहरू विभिन्न प्रकारका जोखिमहरू (जस्तैः भौतिक, रसायनिक, जैविक)बाट मुक्त छन् र तिनको उपभोगबाट मानव शरीर र स्वास्थ्यमा कुनै हानि गर्दैनन्, त्यस्ता खानेकुरालाई हामी प्राविधिक हिसाबले स्वच्छ खानेकुरा भन्छौँ

खाना खानुको मुख्य उद्देश्य शरीरलाई आवश्यक ऊर्जा एवं पोषक तत्त्वहरू उपलब्ध गराउनु हो। यिनमा पाइने पोषक तत्त्वले मानिसलाई मात्र नभई विभिन्न सूक्ष्म जीवाणुहरूका लागि पनि वृद्धि विकासमा सहयोग पुर्‍याउँछ। यदि सोही सूक्ष्म जीवाणुहरू खानाको संसर्गमा आए भने र सो खाना मानिसले उपभोग गरेको खण्डमा खाना सँगसँगै सूक्ष्म जीवाणु पनि मानिसको शरीरमा पस्न सक्छन्। त्यसपछिको परिणाम भनेको मानिसको शरीर रोगको घर हुन सक्छ। त्यसकारण यस्ता सूक्ष्म जीवाणुबाट खानालाई टाढा राख्नु आवश्यक छ।

अर्कोतर्फ, भौतिक जोखिम जस्तैः माटो, ढुंगा, काँचका टुक्रा, रौँ, नङले पोषणमा सोझो असर नपारे पनि शरीरका भित्री अंगमा भौतिक हानि पुर्‍याएर शरीरको पाचन प्रणालीलाई असर पुर्‍याउन सक्छ। रसायनिक जोखिमहरू जस्तै विषादीका अवशेष, अखाद्य रङहरू, टक्सिन (जैविक तथा रसायनिक) प्रतिपोषक पदार्थहरू आदिले खानाको पौष्टिक गुण तथा पाचन प्रणालीलाई तत्कालीन वा दीर्घकालीन असर पु¥याउन सक्छ। यसर्थ, खानेकुरालाई यस्ता तत्त्वबाट टाढा राख्न सकेको खण्डमा मात्र हामीले स्वच्छ र सुरक्षित तरिकाबाट पोषणलाई कायम राख्न सक्छौँ।

खानेकुरामा संक्रमण उत्पादनदेखि उपभोगसम्मको जुनसुकै तहमा हुनसक्छ। त्यस्ता संक्रमणले मानिसको स्वास्थ्यलाई प्रतिकूल असर पार्नेदेखि मानिसको ज्यान नै जानसक्ने अवस्था सिर्जना गराउन सक्छ। त्यसकारण बेलैमा सचेत भएर खाद्य उत्पादन तथा उपभोग गरेमा मानव स्वास्थ्यमा जोखिम कम हुन्छ।

नेपाल सरकारले प्रत्येक वर्षको जेठ महिनालाई ‘खाद्य स्वच्छता महिना’ भनेर देशव्यापी रूपमा मनाइरहेको छ। खाद्य स्वच्छता महिना मनाउन थालेको ११ वर्ष भयो। विभिन्न जनचेतनामूलक कार्यक्रम गरेर खाद्य स्वच्छताको पक्षमा वकालत गर्ने सरकारको नीतिले प्रशोधित खाद्य पदार्थ उत्पादनकर्ता र उपभोगकर्तालाई एउटै वृत्तमा राखेर खाद्य प्रणालीमा आउन सक्ने सम्भावित जोखिम र तिनका रोकथाम एवं निवारणका उपायहरूका बारेमा विभिन्न सन्देश दिइरहेका छन्।

‘खाद्यपदार्थमा स्वच्छता, हामी सबैको प्रतिबद्धता’ भन्ने नाराका साथ यो वर्षबाट अन्तर्राष्ट्रिय रूपमै विश्व खाद्य स्वच्छता दिवस भनेर जुन ७ लाई मनाउन लागिएको छ। नेपालले विश्वलाई सिकाएको पाठ भनेर जसरी अभियन्ताका रूपमा हामी अगाडि आएका छौँ, त्यसको मान र शान जोगाइराख्न त्यत्तिकै गाह्रो छ। यसका लागि खाद्य शृंखलामा आबद्ध हरेक तह तथा व्यक्तिहरू जिम्मेवार हुनुपर्ने टड्कारो आवश्यकता छ, अझ भनौं हरेक उपभोक्ता आफै सचेत हुनुपर्ने देखिन्छ। अरूले औँल्याउनुभन्दा पहिले नै आफै सजग रहनाले आफ्नो स्वास्थ्य अनुकूल रहने त छँदै छ, सरकारको लक्ष्य प्राप्तिमा पनि टेवा पुग्ने पक्कापक्की छ।

नेपालमा खाद्य ऐन २०२३ अनुसार खाद्य प्रशोधन उद्योग तथा केन्द्रहरूले तोकिएको मापदण्ड पूरा गरेर मात्र खाद्यवस्तु उत्पादन तथा विक्रीवितरण गर्नुपर्ने नियम रहेको छ। त्यस्तो मापदण्डको पहिलो बुँदा नै सरसफाइ हुने गरेको छ। विभिन्न खाद्य उद्योगको आधारभूत न्यूनतम मापदण्डका रूपमा उचित सरसफाइ रहनुले पनि खाद्यवस्तुको उत्पादनमा सरसफाइको महत्त्व कति छ भन्ने प्रस्ट हुन्छ।

प्रत्येक मानिसले व्यक्तिगत प्रयोजनको खानेकुरा तयारीका लागि आफ्नो भान्छा प्रयोग गरेकै हुन्छ। खानेकुरा प्रशोधन र उत्पादन हुने सो भान्छा सफा नभएको खण्डमा कस्ता खालका समस्याहरू आइपर्न सक्छन्, यो सोचनीय विषय हो। त्यसकारण, जसरी खाद्य प्रशोधन केन्द्रहरूले सरसफाइलाई न्यूनतम मापदण्ड तोकेर खाद्यवस्तु उत्पादन गर्छन्, त्यसरी नै हामी स्वयंले उपभोग गर्ने खानामा सरसफाइ कायम गर्नका लागि पछि हट्ने वा लापरबाही गर्ने बानी पूर्णतः मूर्खतापूर्ण हुन जान्छ।

स्वस्थ र स्वच्छ खानेकुरा तयारीका लागि तल केही बुँदाहरू प्रस्तुत गरिएका छन्। यी ससाना कुराको पालना गर्न त्यति गाह्रो पनि छैन र हाम्रै उपभोक्ताको स्तरमा लागू गराउन सकिने खालका छन्। स्वच्छ खानका लागि साना प्रयासहरू आजकै दिनबाट थालौँ, सबैलाई पहिलो अन्तर्राष्ट्रिय खाद्य स्वच्छता दिवसको शुभकामना।

सफा पानी प्रयोग गरौँ

पिउने र पकाउने प्रयोजनका लागि सफा पानीको प्रयोगले आधाजसो रोगका कीटाणुलाई घटाउन मद्दत गर्छ। फोहोर पानीमा हुने कीटाणुको माध्यमबाट सर्न सक्ने रोगहरूको रोकथामका लागि सफा पानीको प्रयोग अनिवार्य हुन्छ।

पकाइएका र काँचो खानेकुराहरू एकै ठाउँमा भण्डारण नगरौँ

पकाइएका खानेकुराहरू तुलनात्मक रूपमा केही हदसम्म सुरक्षित हुन्छन्। तापबाट प्रशोधित उक्त खानेकुराको अवस्था काँचो खानेकुराभन्दा फरक हुन्छन्। एकै ठाउँमा पाकेका र काँचो खानेकुरा राखिएको खण्डमा क्रस कन्टामिनेसन (काँचोबाट पाकेकामा)को कारणले कीटाणुको संक्रमण भई सोको सुरक्षामा आंशिक गिरावट आउन सक्छ।

बाँकी रहेका खानेकुरालाई राम्ररी छोपेर राखौं, तताएर मात्र खाने गरौँ

पकाउँदा केही हदसम्म सुरक्षित भएका खानेकुराहरू फेरि त्यसै राखिदिँदा तिनमा हावामा भएका जीवाणुहरूको कारणले संक्रमण हुने सम्भावना बढेर जान्छ। यसको रोकथामका लागि सो खानेकुरालाई राम्ररी छोपेर राख्नुपर्छ र पुनः प्रयोग गर्दा राम्ररी तताएर (खानेकुराको प्रकृति हेरेर करिब ४–५ मिनेट वा ७०– ८० डि. से. पुर्‍याएर) मात्र खानुपर्छ।

खानेकुराको सम्पर्कमा आउने वस्तु तथा ठाउँहरू र खान तयार गर्ने औजार, भाँडाहरू सफा र सुक्खा राखौँ

जीवाणुहरूलाई बढ्नका लागि आधारभूत कुरा भनेको पानी हो। पानी र पोषक तत्त्वहरूको मात्रा पुगेको खण्डमा तिनका लागि उपयुक्त वातावरण सिर्जना हुन्छ र तिनको संख्यामा वृद्धि हुन जान्छ। यो कुराको रोकथामका लागि हामीले प्रयोग गर्ने औजार र भाँडावर्तन सकेसम्म सुक्खा राख्ने बानी बसाल्नुपर्छ। प्रत्येक पटकको प्रयोगपछि राम्ररी सफा गरी सुक्खा ठाउँमा भण्डारण गरिनुपर्छ। साथै, खानेकुराहरू भण्डारण गर्ने र तयार गर्ने ठाउँहरू सधैँ सफा राख्ने गरौँ।

स्टिल र आल्मुनियमका भाँडाहरूको प्रयोग गर्ने गरौँ

माटो वा प्लास्टिकको सामग्रीभन्दा स्टिल वा आल्मुनियमका भाँडाको प्रयोगमा बढी जोड दिनुपर्छ। यस्ता भाँडाहरू सफा गर्न सजिलो हुने तथा यिनबाट खानेकुरामा हुने माइग्रेसन (प्याकेजिंग पदार्थबाट त्यसका अणुहरू खानेकुरामा सर्ने प्रक्रिया) कम हुने हुँदा मानिसको स्वास्थ्यका लागि उपयुक्त हुन्छन्।

सुक्खा खानेकुराहरूलाई ओसबाट टाढा राखौँ

पानीका कारणले सुक्खा खानेकुराहरूले पानी सोस्न सक्छन्, जसले गर्दा खानेकुरोको जलांश बढाइदिन्छन् र तिनको अपेक्षित आयु कम भएर जान्छ। अर्कोतर्फ, पानी बढी सोसेमा त्यस्ता सुक्खा खानेकुराहरूको गुणात्मक ह्रास हुने हुँदा आफूले चाहेको जस्तो स्वाद नपाइन सक्छ। यस्ता खानेकुराहरूको भण्डारणका लागि बिर्को लगाउन मिल्ने स्टिल, सिसा वा आल्मुनियमका भाँडाहरूको प्रयोग गर्न सकिन्छ।

खाने तेललाई साँघुरो घाँटी भएको बोतलमा भण्डारण गर्ने गरौँ

हावामा भएको अक्सिजनका कारणले तेल चाँडै बिग्रन सक्छ। हावाको प्रत्यक्ष सम्पर्कमा सकेसम्म कम समय राख्नाले तेलको उपभोग्य समय बढी बनाउन सकिन्छ। त्यसकारण बिर्को लगाउन मिल्ने साँघुरो घाँटी भएको सिसाको बट्टामा तेलको भण्डारण गर्नाले तेललाई बढी समयसम्म सुरक्षित रूपमा प्रयोग गर्न सकिन्छ। अझ एकपटक प्रयोग भएको तेललाई सकेसम्म दोस्रोपटक प्रयोग नगर्नाले पनि तेलको कारणले उत्पन्न हुन सक्ने समस्यालाई न्यूनीकरण गर्न सकिन्छ।

काँचै खान सकिने हरियो सागपात, गाँजर, मुलाजस्ता खानेकुरालाई राम्ररी सफा गर्ने गरौँ

धुलो, माटोबाट संक्रमण भएका सागपात, गाँजर, मुला, गोलभेँडाजस्ता कुरालाई पहिला सफा पानीले धोएर मात्र प्रयोग गर्ने गरौँ। बजारमा पाइने यस्ता सामग्रीमा धेरै मात्रामा धुलो टाँसिएका हुन्छन्, जसमा मानव स्वास्थ्यका लागि हानिकारक जीवाणुहरू पनि हुन सक्छन्।

खान तयार गर्ने व्यक्तिले व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिने गरौँ

मानिसको शरीर जीवाणुको भकारी हो। सामान्य अवस्थामा हानि नपुर्‍याउने यस्ता जीवाणुले खानेकुरामा प्रवेश पाएमा तिनले नराम्रो परिणाम निम्त्याउन सक्छन्। त्यसकारणले खानेकुरा तयार गर्ने व्यक्तिले आफ्नो सरसफाइमा उचित ध्यान दिनु आवश्यक हुन्छ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।