आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।

विश्वभर नै आलुको बढी प्रयोग हुने गरेको छ । अझ नेपाल र भारत लगायतको देशमा त यसको उत्पादन तथा उपभोग बढी हुने गरेको छ । आलूलाई भण्डारण गरेर राख्ने गरिएको छ र यसलाई आवश्यकता अनुसार प्रयोग गर्ने गरिएको छ । तर यसरी भण्डारण गरिएको आलु प्रयोगले त्यति फाइदा भने पु-याउँदैन । यस्ता केही आलु छन् जसालई प्रयोग गर्दा त्यसले नकारात्मक असर पर्छ ।

चाहुरि परेको आलु

लोमो समय राखेको आलुमा रहेको पानीको मात्र नष्ट भएसँगै आलु चाहुरिन पुग्छ । जसलाई विउको रुपमा प्रयोग गर्ने गरिन्छ । आलुलाई धेरै समय राखेरपछि त्यो चाहुरिन्छ, त्यसको टुसा उर्मन थाल्छ । यसैलाई बिऊको रुपमा प्रयोग गर्न सकिन्छ । यस्तो आलु सेवन गर्दा हानी पुग्छ । यस्तो चाउरी परेको आलुको सेवन गर्दा शरीरमा विषाक्त पदार्थ प्रवेश गर्छ ।

हरियो रंग

बजारमा खरिद गरेको बेला होस् वा सब्जी बनाउने बेला, बोक्रामा हरियो हुँदै गएको आलु सेवन नगरौं । लामो समय राख्दा पनि आलु हरियो हुँदै जान्छ । यस्तो आलुको हरियो भाग काटेर प्रयोग गर्नुपर्छ । आलुको हरियो भागमा सेलेनाइन विषाक्त पदार्थ हुन्छ ।

टुसा अाएको आलु

आलुलाई लामो समयसम्म भण्डारण गरेपछि त्यसमा टुसा अंकुराउन थाल्छ । अक्सर यस्तो आलु रोप्नका लागि उपयोगी हुन्छ । तर, हामी टुसा अंकुराएको आलु सेवन गर्छौ, जो स्वस्थ्यकर मानिदैन ।

यसो गर्दा पुग्छ फाइदा

आलु स्वादिलो र बहुउपयोगी परिकार मात्र होइन, स्वस्थ्यवर्द्धक पनि हुन्छ । आलुमा भिटामिन सि, बि कम्पलेू्रक्स तथा आइरन, क्याल्सियम, म्याग्नेसियम, फस्फोरस तत्व हुन्छ । यदि आलुलाई उसिनेर बोक्रासँग सेवन गर्दा यसमा रहेको पोषक तत्व नष्ट हुँदैन ।

आलु किन खाने, आलु खानुका ५ फाइदा

आलुका धेरैजसो परिकारहरु हामी मन पराउँछौ । बजारमा आलुको माग सदैव उस्तै हुन्छ । आलु एक सर्वसुलभ र सस्तो सब्जी तथा खाजा पनि हो ।

नेपालीका भान्सामा सबैभन्दा बढी उपयोग गरिने तरकारी पनि आलु नै हो । किनकी आलु जुनसुकै तरकारीमा मिसाएर खान सकिन्छ । साथै, यसको धेरै किसिमका परिकारसमेत बनाउन मिल्छ ।

आलु स्वास्थ्य र पोषणका दृष्टिकोणले समेत उपयोगी छ। के के छन्, आलुका फाइदा ?

१. माटो भित्र फल्ने आलुमा अत्यधिक पोषण तत्व रहन्छ । यसमा प्रशस्त मात्रामा भिटामिन र मिनरल्स पाइन्छ।

२. आलुमा भिटामिन, खनिज र एन्टि अक्सिडेन्ट लगायतका तत्व अधिक मात्रामा पाइन्छ । आलुमा पाइने एन्टि अक्सिडेन्टले क्यान्सर, मधुमेह, हृदय रोग लगायत पुराना रोगहरुमा समेत उपयोगी हुन्छ ।

३. यदि तपाईंमा रक्तचाप, प्रतिरोधात्मक शक्ति, पाचन प्रणाली लगायतका समस्या छन् भने आलुको सेवन निकै उपयोगी मानिन्छ।

४. आलुमा प्रशस्त स्टार्चको मात्रा हुने भएकाले यसले रगतमा इन्सुलिनको मात्रालाई कन्ट्रोल गर्छ । र ब्लड सुगर हुने खतरा घटाउँछ ।

५. आलुको नियमित सेवन गर्ने ब्यक्तिलाई ग्यास, कब्जियत, पेट दुख्ने लगायतका रोगको जोखिम कम हुन्छ।

आलु पछाडि लुकेको तपस्या :

नेपालीले यति धेरै आलु खान्छन् कि, प्रति व्यक्ति प्रति वर्ष करिव ७५ किलो आलु खान्छन् । दक्षिण एसियामा आलु खानेमा नेपाल अग्रणी छ । नेपालमा यति धेरै आलु खपत हुन्छ, तर, उत्पादन चाहिँ कसरी हुन्छ ? कहाँ हुन्छ ?

नेपालीले जति आलु खान्छन् त्यसको करिव १० देखि १२ प्रतिशत आलु भारतबाट आयात हुन्छ, करिव ८८ देखि ९० प्रतिशत नेपालमै फल्छ ।

वरिष्ठ आलु वैज्ञानिक शम्भु प्रसाद धितालको सम्झनामा ३० वर्ष अघि नेपालमा करिव एक लाख ५० हजार हेक्टरमा आलु खेति हुन्थ्यो र वार्षिक करिव १५ लाख टन फल्थ्यो । अहिले एक लाख ८५ हजार हेक्टरमा खेति हुन्छ र वार्षिक करिव २६ लाख टन फल्छ ।

अर्थात्, तीस वर्ष यता आलुको उत्पादकत्व करिब दोब्बर भएको छ । निश्चित क्षेत्रफलको जमिनमा पहिले कति फल्थ्यो र अहिले कति फल्छ भन्ने नै उत्पादकत्व हो । ३० वर्षमा आलु खेति हुने जमिन करिब ३५ हजार हेक्टर बढेको छ ।

यति धेरै आलु फल्नुमा मुख्य दुई पक्ष छ । पहिलो पक्ष हो– किसानको महेनत । दोस्रो पक्ष हो– धेरै फल्ने आलुको विकासमा समर्पित वैज्ञानिकहरु र कृषि सम्वन्धी सरकारी निकायहरुको तपस्या ।

आलु उत्पादन बढाउन तपस्या गर्ने एउटा निकाय छ । त्यो निकाय हो– नार्क अन्तर्गत रहेको राष्ट्रिय आलु बाली अनुसन्धान कार्यक्रम । त्यो निकायमा तपस्या गरेर बसिरहेछन् वैज्ञानिकहरु ।

ती वैज्ञानिकहरुले गरेको तपस्याको कमाल हो– अहिले हामीले खाइरहेको आलु । त्यस्ता वैज्ञानिकहरुमध्ये एक हुन् शम्भुप्रसाद धिताल ।

तपस्याको सुरुवात

तपस्याको थालनी ०२९ मा राष्ट्रिय आलु बाली विकास कार्यक्रमको स्थापना भएपछि हुन्छ । नेपालमा आलुका लागि हावापानी निकै अनुकुल भएपनि कृषकलाई कस्तो आलुको विउ लगाउँदा कति उत्पादन हुन्छ ? कस्तो आलुलाई बजारीकरण गर्न सकिन्छ ? यस्ता कुराको हेक्कै थिएन । कृषि वैज्ञानिकलाई पनि आफ्नो देशको आलु बारे थोरै मात्र ज्ञान थियो ।

नार्कले आलुमा अनुसन्धान गर्न बाबुकाजी भुमी, डा जनकदेव शाक्य र ज्ञानप्रसाद राईको नेतृत्वमा एउटा टोली गठन बनायो । ०३७ सालबाट आलुको प्रारम्भिक अनुसन्धान सुरु भयो । भारत र पेरुबाट नमूना आलु नेपाल ल्याइयो । तर ०४८ सालमा नार्कको स्थापनापछि आलु बारे वैज्ञानिक अनुसन्धानले नयाँ उचाई लियो ।

नमूना आलुलाई प्रयोगशालामा राखियो । ल्याबभित्र आलुको विकास गर्न थालियो । त्यहाँ आयातित आलुको मात्र परीक्षण भइरहेको थिएन, नेपालकै रैथाने प्रजातिका आलुको पनि अध्ययन भइरहेको थियो ।

ल्याबमा आलुको जीवन

हामीले अहिले खाइरहेको आलुको पुर्खा यिनै वैज्ञानिकहरुले ल्याबमा हुर्काएका हुन् । उनीहरुले भविष्यको नेपालका लागि ती आलुहुर्काइरहेका थिए ।

प्रारम्भिक अनुसन्धान सुरु भएको तीन वर्षपछि सो अनुसन्धान टोलीमा अर्का वैज्ञानिक थपिए– डाक्टर शम्भु प्रसाद धिताल । २०४० सालमा लोकसेवा परिक्षा उत्तिर्ण गरेर शम्भु नार्कमा आवद्ध भएका थिए ।

पहिला पाँच जनाको टोली थियो । पछि शम्भु समेत थपिएका थिए । ललितपुरको खुमलटारमा टोलीले आफ्नो अनुसन्धान केन्द्र राखेको थियो । ६ जनाको टोली एकढिक्का भएको थियो ।

तर, विज्ञहरुको अभाव खट्कयो । उनीहरु सिमित संख्यामा थिए । विभिन्न विषयमा अध्ययन गर्ने विज्ञ नै नेपालमा थिएनन् । फेरी टोलीलाई भौतिक पूर्वाधार र आधुनिक प्रयोगशालाको पनि अभाव रह्यो ।

दक्षिण कोरियाको आलु

वैज्ञानिक टोलीका कान्छा सदस्य शम्भु प्रसाद धितालले दक्षिण कोरियामा ‘आलु’को विषयमा विद्यावारिधि र महाविद्यावारिधि सकेका थिए । उनले त्यहाँको अनुसन्धान देखेका थिए । आफ्नै देशको आलुमा भने खासै प्रगति हुन सकेको थिएन ।

तर टोलीलाई एउटा कुराले निकै प्रेरणा दिइरहेको थियो । दक्षिण कोरियामा शम्भुले आलुको उत्पादन राम्रो भएको देखेका थिए । आलु खेतिले आर्थिक रुपमा सम्पन्न बनाएको परिवार देखेका थिए ।

त्यसैले आलुका थप जात नेपालमा पनि विकास हुनुपर्छ । नेपालीले अरु जातका आलुपनि खान पाउनुपर्छ । आलुको अनुसन्धान हाम्रै टोलीले गर्नुपर्छ । आलुको उन्मोचन हाम्रै पालामा हुनुपर्छ भन्ने जस्ता कुराले शम्भु र टोलीलाई प्रेरणा दिन्थ्यो ।

शायद यसैको उपज हो– ०३७ बाट थालिएको अनुसन्धान १२ वर्षपछि अर्थात् ०४९ सालमा आएर सफल भयो । यसैबीच ०४८ मा आधुनिक प्रयोगशालाको स्थापना समेत भएको थियो । नेपाली वैज्ञानिकले थरिथरिका आलुका प्रजातिको विकास गरे । उन्नत जातको आलुको बिउ विकास गरे । १२ वर्षको बीचमा तीन जातका आलु विकास भयो ।

त्यहि अनुसन्धानको उपज हो, हामीले मीठो मानि खाने डेजिरे, कुफ्रीज्योती, कुफ्रीसुन्दरी, खुमल सेतो, खुमलरातो खुमलउज्वल, खुमलविक्रम, जनकदेव, आईपि वाई ८ जातका आलु । ‘जनकदेव’ नामको आलु टोलीकै सदस्य जनकदेव शाक्यको नाममा राखिएको हो । केही जातको आलुको नामको अगाडि रहेको ‘खुमल’ नाम चाहिँ अनुसन्धान केन्द्र रहेको ठाउँ खुमलटारबाट लिइएको हो ।

यस्तो महान काम गर्ने वैज्ञानिक टोलीका महत्वपूर्ण सदस्य अर्थात् उनै डा. शम्भुले अबको तीन महिना पछि नार्कबाट अवकाश पाउँदैछन् । आलुको विकास गरेर नेपाल र नेपालीको सेवा गरेका अन्य सदस्यहरुले पहिले नै अवकाश पाइसकेका छन् ।

पैंतिस वर्ष

नार्कमा आलुसँग धितालले ३५ वर्ष बिताइसके । आलुको बिउ तथा बाली विकासको क्षेत्रमा यस बीच ठूलो प्रगति भइसकेको छ । धिताल भन्छन्– ‘दक्षिण कोरिया पढेर आएपछि नेपालमा आलुको उत्पादकत्व प्रति हेक्टर जति थियो, अहिले दोब्बर भएको छ ।’

यो ३५ वर्षमा धिताल र उनको टिमले १२ वटा जातको उन्मोचन गर्यो । दुई जात सिफारिस गर्याे भने अन्य तीन जात सिफारिस हुने क्रममा छ ।

३५ वर्ष अघि र आजको नेपालमा आलु खेतिको अवस्थामा के फरक छ ? धिताल भन्छन्– ‘नेपालमा आलु खेतिमा व्यापक परिवर्तन आएको छ । रोगव्याध कम लाग्न थालेको छ । व्यवसायिक खेतिमा बढोत्तरी भएको छ । बिउ आलु उत्पादन बढेको छ । समग्रमा भन्दा किसान लाभान्वित भएका छन् ।’

नेपालले यस बीचमा विभिन्न जातका विदेशी आलु भित्रायो र त्यसलाई नेपाली माटो र हावापानी अनुकूल बनायो । अहिलेसम्मको सबैभन्दा सफल आलुको प्रजाति जनकदेव, डेजिरे र कुफ्रिज्योती.हुन् ।

यी आलु किन सफल भए ? धिताल भन्छन्– ‘धेरै फल्ने, कम रोग लाग्ने र नेपालका लगभग सबैजसो क्षेत्रमा हुने भएकाले सफल भयो ।’

आलुमै अर्काे विकास

पछि शम्भुकै पहलमा पानीमा आलु खेति गर्ने नयाँ प्रविधि नेपालमा विकास भयो । नेपालमा उनी नै पहिलो वैज्ञानिक बने, पानीमा आलु खेति गर्ने ।

पानीमा फल्ने आलुको जातबाट एक पटक लगाएको वालिबाट तीन पटक आलु टिप्न सकिन्छ । माटोमा भन्दा तीन गुणा बढि फल्छ र तीन गुणा धेरै आम्दानी हुन्छ । अहिले सयौं किसान र प्राविधिक यो प्रविधि सिकिरहेछन् ।

तर, आलु फलाउनु मात्र सफलता होइन भन्ने थाहा थियो, शम्भुलाई । किसानहरु यसै त आलु कम फलेर तनावमा थिए । झन् अनेक थरिका रोग लागेर बारीमै आलु नष्ट हुन थालेपछि, किसान मर्नु न बाँच्नुको अवस्थामा पुग्थे । आलु खेति गर्ने किसान ‘डढुवा’ रोग भनेपछि त झन् भयभित हुन्थे ।

धेरै ठाउँमा आलुबाली सखाप भएको थियो । पछि शम्भुकै टोली खटियो डढुवा रोग विरूद्ध । अनुसन्धान भयो । रोगको निदान पत्ता लाग्यो । अब डढुवा रोग लाग्ने समस्या नियन्त्रणमा आयो ।

शम्भु भन्छन्, ‘मैले जीवनमा कमाएको भनेको तिनै किसानको आशिर्वाद हो । जुन अर्वाैं रुपैयाँको सम्पत्तिभन्दा ठूलो छ ।’

हरेक वर्ष नेपालमा मौसममा केही परिवर्तन आउँछ । नयाँ मौसम र हावापानीले आलुमा नयाँनयाँ रोग लाग्छ । शम्भु र उनको टोली हरेक वर्ष यो समस्यासँग जुध्न लागिपर्छ ।
यो वर्ष पनि टोली डढुवा रोगकै रोकथामका निम्ति पूर्वको झापादेखि पश्चिममा धनगढीसम्म पुग्यो ।

र अन्त्यमा

तर अब शम्भुले नार्कबाट अवकाश लिने बेला आइसकेको छ । तैपनि उत्तिकै समर्पण साथ काम गरिरहेछन् ।

उनलाई अरु कुराको त चिन्ता छैन । तर नार्कमा भएका कृषि वैज्ञानिकहरु धमाधम अवकास हुने क्रम बढेको र नयाँ पुस्ताका वैज्ञानिकहरुले नेपालमा काम गर्न रुचि नदेखाएको देख्दा चाहिँ मन भतभती पोल्छ ।

‘हिजो जस्तो लाग्छ, म यो सेवामा प्रवेश गरेको । तर अनुसन्धनको क्रममा समय बितेको पत्तै नहुने रहेछ । जति काम गर्दै गयो, उति सन्तुष्टि पाइने रहेछ । यो सेवा छोड्न त मन छैन, तर बाध्यतावस तीन महिनापछि मैले छोड्नै पर्छ’, भावुक हुँदै उनले भने ।

शम्भुको एउटा ठूलो इच्छा थियो रे । आफ्नै पालामा नेपाललाई आलुमा आत्मनिर्भर बनाउने । तर आत्मनिर्भर त परको कुरा सकि नसकि किसानले दुःख गरेर उब्जाएको आलु कहिले मूल्य नपाएर त कहिले अनेक रोग लागेर नष्ट भएको देख्दा शम्भु निकै दुःखी हुन्छन् ।

नेपाललाई आलुकै देश भन्दा पनि हुन्छ । आलु उत्पादन गर्ने क्षमताका दृष्टिले नेपाल विश्वको २४ औं स्थानमा छ । एसियामा पाँचौं स्थानमा छ । तैपनि हरेक वर्ष करिव पाँच अर्ब रूपैयाँको आलु आयात हुन्छ । नेपाली आलुको बजार करिव ५१ अर्व रुपैयाँ हाराहारी छ ।

‘अझ भारतबाट आएका व्यापारीले नेपालको उच्च पहाडी क्षेत्रबाट वर्षेनी आलुका बिउ लैजान्छन् अनि हामी वर्षेनी भारतबाट अर्वाैं रुपैयाँको आलु आयात गर्छाैं’, उनले भने ।

नेपालमा परम्परागत तरिकाले खेति हुन्छ । आलुको व्यवसायिकरणका राम्रो छैन । तर शम्भु अठोट कसेर बसेका छन् । उनी तीन महिना नै किन नहोस्, नेपाललाई आलुमा आत्मनिर्भर गराउने काममा निरन्तर खटिने योजनामा छन् ।

अहिले प्रविधिको उच्चतम विकासले गर्दा पहिलेजस्तै एक विषयमा अनुसन्धान गर्न १२ वर्ष लाग्ने अवस्था छैन । पाँच वर्षमै आलुको क्षेत्रमा व्यापक अनुसन्धान गर्न सकिने अवस्था छ । तर शम्भुको एउटा कामना छ– यो तीन महिनामै नेपाल आलुमा आत्मनिर्भर हुने गरी कुनै प्रविधिको विकास भइदियोस् !

विश्वभरि एक हजार जातका आलु पाइन्छ । नेपालका रैथाने आलु करिव ७० वटा छन् । नार्कको ल्याबमा करिव एक सय ५० जातका आलु संरक्षित छन् । उपभोक्ताले करिव २० वटा जातका आलु उपभोग गर्छन् । ती मध्ये १२ वटा जातका आलु शम्भु र उनको टोलीले विकास गरेको हो ।

र यहि हो, आलुमा लुकेको तपस्याको कथा ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।