सफलता भनेको पैसा वा नाम मात्र कमाउनु हो ? नाम र दाम कमाए पछि के सबैथोकको खुसी मिल्छ ? यी कुराहरु हामीले जान्नु एकदमै जरुरी छ । किनकि आजकल मानिसहरु के सोच्ने गर्छन भने पैसा कमाए पछी संसारको सबै खुसी मिल्ने गर्छ । तर के पैसाले पारिवारिक खुसि किन्न सकिन्छ त ? सायदै सकिदैन होला किनकि पैसा भनेको एउटा आवश्यकता पुरा गर्ने माध्यम मात्र हो ।

तपाईले पैसा त कमाउनु हुन्छ तर आफ्नो परिवारलाई भने समय दिन सक्नु हुन्न भने याद राख्नुहोस् तपाईलाइ पारिवारिक खुसि पनि कम मिल्ने गर्छ । एक असल व्यक्ति त्यो हो जसले आफ्नो सम्पूर्ण काम गरेर पनि आफ्नो थोरै समय भए पनि परिवार सग बसेर बिताउने गर्दछ । यदि तपाई आफ्नो समय निकालेर परिवार सग बिताउने गर्नुहुन्छ भने उनीहरुको सकारात्मक कुराले तपाईलाई अझ बढी हौशला मिल्दै जान्छ ।

जीवनको हरेक परिस्थतिमा आफ्नो परिवारको साथ् कहिल्यै पनि नछोड्नु किनकि परिवार भन्दा ठुलो अरु केहि पनि हुदैन । जसले आफ्नो परिवारलाई साथ् दिदैन नि ऊ सधै नै एक्लो हुने गर्दछ । परिवारको महत्वको राम्रो उदाहरण भनेको साउथ फिल्महरु हुन् ।

किनकि त्यहा पारिवारिक सम्बन्धलाई यति मजाले देखाउने गर्छ कि अरु कसैले पनि त्यति मजाले देखाउदैन । यति परिवार खुसि छ भने संसारनै उज्यालो भए जस्तो लाग्छ तर परिवारमा नै खुसि वा मेलमिलाप छैन भने त्यहाँ लक्ष्मीले पनि बास गर्नुहुन्न ।

आफ्नो परिवार संग समय बिताउदा के फाईदा हुन्छ त ?

यदि तपाइँ आफ्नो परिवार संग थोरै मात्र समय बिताउनु हुन्छ भने परिवारमा आत्मियता पनि कम हुन्छ तर तपाई जति धेरै आफ्नो परिवार संग समय बिताउनु हुन्छ त्यति नै धेरै बिश्वास र आत्मियता पनि बढ्छ । आफ्नो परिवार संग आफ्नो दुख सुख शेयर गर्दा परिवारको सदस्यहरुबीच माया पनि बढ्दै जान्छ ।

मानिसहरु प्राय एक्लोपनले गर्दा डिप्रेसन जस्तो रोगको शिकार हुने गर्दछन । तर यदि मनमा लागेको कुराहरु र आफ्नो दुखहरु परिवारमा बताउदा यस्ता रोगहरु बाट पनि बच्न सकिन्छ । परिवार संग समय बिताउदा त्यहाँ एउटा बेग्लै न्यानोपन पनि रहन्छ । जसले आफ्नो परिवार सग आफ्नो थोरै भए पनि समय निकालेर बिताउने गर्छ उसले अफ्ठ्यारो परिस्थितिमा पनि सम्झिन्छ कि, ‘मसंग मेरो परिवार छ, म मेरो परिवारको लागी बाच्नुपर्छ ‘। यसको के फाईदा हुन्छ भने डिप्रेसनमा गएर आत्महत्या गर्ने जस्ता घटनाहरु पनि कम हुन्छन् ।

मानिसहरु एक्लोपनले गर्दा कुलतमा फस्ने गरेको समस्याहरु धेरै देख्नमा आउछ । तर परिवारमा भने सबै सदस्यहरु भेला भएर आफ्नो मनको कुरा सुनाएर मन हल्का गर्दा यस्ता समस्याहरु पनि न्यून हुदै जान्छन् । दिनको एक घण्टा भए पनि सबै सदस्यहरु भेला भएर कुरा गर्ने, रमाउने गर्दा पारिवारिक कडी पनि दर्बिलो हुने गर्छ ।

मनमा लागेको नराम्रो कुरा सदस्यहरुबीच बताएर त्यसको निराकरण कसरी गर्ने भन्नेबारे पनि चर्चा हर्नुपर्दछ । परिवारमा आफ्नो मनको कुरा खुलेर गर्दा मन पनि हल्का हुन्छ र मानसिक तनाव पनि कम हुन्छ । सदस्यहरुबीच मनमुटाव पनि रहदैन र मनमा कुरा गुम्स्याउने वातावरण पनि रहदैन ।
यदि कुनै परिवारको एक सदस्य नकारात्मक बाटोतर्फ जान खोज्दैछ भने उसलाई राम्ररि सम्झाएर, बुझाएर सकारात्मक कुराहरु सुनाएर उसलाई पुन राम्रो काम तर्फ प्रेरित गराउनु पर्दछ ।

यो संसारमा हरेक एक व्यक्ति आफ्नो जीवनमा समस्याहरु संग लडिरहेको हुन्छ । ऊ आफ्नो जीवनको एक योद्दा पनि हो । उसको परिवार उसको साथमा छ भने उसलाई ति समस्याहरु संग लड्न हौशला प्राप्त हुन्छ । उसले जस्तोसुकै परिस्थितिमा त्यस्ता समस्याहरु संग लड्न सक्छ ।

उसको लागी परिवार भनेको हिम्मतको सागर हो । जब परिवार एक ठाउमा खुसि साथ् हुन्छ नि तब उसले आफ्नो शक्तिलाई समुहको शक्तिमा रुपान्तरण गर्दछ । जसले गर्दा जस्तोसुकै कठिन समस्याहरुको पनि समाधान सजिलै निस्कने गर्दछ ।

परिवारको यहि नै त फाईदा छ कि कठिन परिस्थतिमा एक अर्कालाई सक्दो सहयोग गर्ने । यदि व्यक्तिलाई परिवारको साथ् छ भने ऊ आफ्नो लक्ष्यमा पनि सजिलै अघि बढ्न सक्दछ तर यसको लागी तपाईले आफ्नो परिवार संग पनि समय बिताउने गर्नु पर्दछ । परिवारको सदस्यहरु जस्तोसुकै परिस्थितिमा पनि एक झुट हुने गर्नु पर्दछ यसले गर्दा परिवारको सदस्यहरुलाई आफ्नो लक्ष्यमा पुग्न पनि सहज हुन्छ ।

परिवारको सदस्यहरु लामो समय सम्म एकैसाथ बस्दा एक अर्का प्रति आत्मियता र बिश्वास पनि बढ्छ । उनीहरु एक अर्काको ख्याल पनि गर्ने गर्छन । यसले गर्दा सबै सदस्यहरु पनि खुसि रहन्छन र जति धेरै मानिसहरु खुसि भए त्यतिनै उनीहरु मानसिक र शारीरिक रुपमा स्वस्थ पनि बन्दै जान्छन । परिवारको सदस्यहरु खुसी साथ् बस्नु भनेको नै स्वस्थ जीवन बाच्नु पनि हो ।

व्यक्ति-व्यक्ति मिलेर परिवार बन्छ र परिवार – परिवार मिलेर समाज बन्छ त्यसपछि समाज – समाज मिलेर एउटा सिंगो देश बन्छ त्यसैले दक्ष र स्वस्थ जनशक्ति उत्पादन हुनको लागी पारिवारिक खुसि हुन जरूरी हुन्छ । सबै परिवारको सदस्यहरु मिलेर आफ्नो मनको भावना शेयर गर्नुपर्छ । तब मात्र हाम्रो देश पनि सकारात्मक बाटो तर्फ जानेछ ।

जीवनमा खुसी खोज्न कहिँ जानु पर्दैन किनकि खुसी त सानो सानो कुरामा नै भेटिन्छ । र त्यहि खुसि परिवारको साथमा हजार गुणा बढेर जान्छ । एक्लै खुसि हुनुमा र परिवारको साथमा खुसि हुनुमा धेरै फरक पर्छ । आफ्नो हजुरबुवा हजुरआमाले भनेका कथाहरु सुन्न पाउदा निकै खुसि लाग्छ ।

साना केटाकेटीहरु संग खेल्न पाउदा, चाडपर्वहरुमा आफन्तहरु संग खुसि साथ् समय बिताउदा र आमा-बुवाको आशिर्वाद पाउदा निकै खुसि मिल्छ । यसरी व्यक्ति आफ्नो परिवार संग घुलमिल भएर बस्दा ऊ कुनै दुबिधामा पनि रहदैन र ऊ स्वस्थ पनि रहन्छ । यसले गर्दा व्यक्ति खुसि र प्रफुल्लित भएर बाच्न पनि सक्छ । त्यसैले तपाई जतिनै व्यस्त भए पनि आफ्नो परिवारको लागी थोरै भए पनि समय निकालेर बिताउने गर्नुहोस ।

नोट : साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।