अमेरिकन डाईबेटिज एसोसियसन (एडीए) र विश्व स्वास्थ्य सङ्गठन (डव्लुएचओ) का अनुसार मधुमेह रोग पछिल्लो दुई शताब्दीदेखि बढ्दो क्रममा छ । सन् १८९५ मा मधुमेह रोगीको सङ्ख्या विश्वमा ३ करोड जति थियो भने त्यो सङ्ख्या बढेर सन् २०१३ सम्म आईपुग्दा ३८ करोड भन्दामाथि आइपुगेको छ । यो सङ्ख्या सन् २०३५ मा बढेर लगभग ६० करोड पुग्ने अनुमान गरिएको छ ।

मधुमेह रोगी सबैभन्दा बढी भएको पहिलो देश हाम्रो छिमेकी राष्ट्र चीन हो जहाँ लगभग १० करोड जनसङ्ख्या मधुमेह रोगी छन् भने दोस्रो देश पनि हाम्रो छिमेकी राष्ट्र भारत हो जहाँ करिब ७ करोड मधुमेह रोगी छन् । नेपालमा पनि मधुमेह रोगीको सङ्ख्या दिनानुदिन बढ्ने क्रममा छ । यकिन तथ्याङ्क नभएतापनि नेपालमा लगभग १ लाख जति जनसङ्ख्या मधुमेहका रोगी रहेको अनुमान छ । यसको मुख्य कारण अस्वस्थ्य र अव्यवस्थित जीवनशैली पनि हो ।

के हो मधूमेह ?

हाम्रो शरीरमा रहेको प्यानक्रियाजको आईलेट अफ् ल्यागरह्यान्समा रहेको बेटा सेलबाट इन्सुलिन उत्पादन हून्छ । कुनै कारणबस इन्सुलिन कम बनेमा वा इन्सुलिनले राम्रोसँग काम नगरेमा रगतमा ग्लूकोजको मात्रा बढ्न जाने अवस्थालाई भधुमेह अथवा डाईबेटिज भनिन्छ ।

मधुमेह टाईप वान्, टाईप टु, गर्भाअवस्थामा हुने गेस्टेस्नल डाईबेटिज र मच्युरिटि अन्सेट अफ् डाईबेटिज इन योङ्ग गरी ४ प्रकारको हुन्छ तर प्राय टाईप वान र टाईप टु डाईबेटिज नै धैरै हून्छ ।

१.टाईप वान् डाईबेटिज

यसका बिरामी दूब्ला पातला हून्छन् । ४० वर्ष भन्दा कम उमेरमा बढी हून्छ । यो प्रकारको मधूमेह इन्सूलिनको अभावका कारण हूने हुँदा उपचारका लागि इन्सुलिन नै चाहिन्छ । बिरामीमा तुरुन्त लक्षणहरु देखिन्छ । यो बशांणुगत हूँदैन ।

२.टाईप टु डाईबेटिज

यसका बिरामी प्राय मोटा हून्छन् । ४० वर्षभन्दा बढी उमेरका लागि बढी हून्छ । यो प्रकारको मधुमेहमा इन्सुलिन रेसिष्टेन्ट (इन्सुलिनले काम गर्ने शक्ति घट्ने अवस्था) हुने हुँदा खाने चक्की वा इन्सुलिन नि आवश्यकता पर्न सक्छ । बिरामीमा लक्षणहरु ढिलो देखिन्छ । यो बशांणुगत हुन्छ ।

कारणहरु

टाईप वान डाईबेटिज साधारणतया अटो इम्युनिटि, प्यानक्रियाजका रोगहरु र कहिलेकाही भाइरसको सङ्क्रमणबाट पनि हुन्छ । टाईप टु डाईबेटिज प्राय वशांणुगत, अव्यवस्थित जीवनशैली र मोटोपनाका कारणबाट हुन्छ ।

लक्षण तथा चिन्हहरु

१.पिसाब बढी लाग्ने (एक रातमा तीन वा सोभन्दा बढी पटक) ।

२.तिर्खा बढी लाग्ने ।

३.भोक धेरै लाग्ने ।

४.तौल घट्ने (टाईप वान डाईबेटिज)

५.गुप्ताङ्ग चिलाउने ।

६.केटाकेटीमा रातमा बिस्तारामा बढी पिसाब गर्ने ।

७.थकाई धेरै लाग्ने ।

८.घाउ ढिलो निको हुने ।

९.आाखा धमिलो देख्ने ।

१०.हातखुट्टा झम्झमाउने ।

यसलाई नियन्त्रणमा राख्न भने अवस्य सकिन्छ । मधुमेहबाट बच्न हरेक व्यक्तिले पाँचवटा सूत्र पालन गर्नुपर्छ ।

१. जीवनशैली परिवर्तन

मनमोजी रूपको जीवनशैलीलाई मधुमेहले स्विकार्दैन । खानपान, रहनसहन बानी व्यहोरामा तपाईंले केही परिवर्तन गर्नैै पर्ने हुन्छ । तर यसको अर्थ कठोर जीवनयापन गर्नुपर्छ भन्ने होइन । मधुमेही रोगीले पनि नियमित औषधि सेवन गरी परिवर्तित जीवनशैलीको कारणबाट मधुमेहलाई नियन्त्रणमा राख्न सकिन्छ । योगाभ्यास, सहनशील, सादा जीवन र उच्चविचार शैलीले मधुमेह नियन्त्रण गर्न सकिन्छ । चिन्ता र भयमुक्त वातावरणमा हाँस्ने हँसाउने मनस्थितिमा रहनु मधुमेहीका लागि लाभदायक हुन्छ ।

२. आहार

मधुमेहीले आहारमा विशेष ध्यान दिनुपर्छ । नियमित निर्धारित समयमा खाना र खाजा खानुपर्छ । लामो समयसम्म नखाइकन भोको बस्नु हुँदैन । चिनी र चिनी भएका खाद्यवस्तु जस्तै चिनी हालेको (चिया वा कफी, हर्लिक्स, कोकाकोला, पेप्सी) आदि खानु हँुदैन । यसका अलावा आइसक्रिम, मह, चकलेट, सक्खर, चाकु, जाम खानु हुँदैन । खाना खाँदा एकैपटक टन्न नखाई दिनको तीन चारपटक खाना खाइरहनुपर्छ । एकपटक भात र अर्को पटक रोटी खानु राम्रो हुन्छ । खानपानमा विचार गर्न नसकिए औषधि सेवनले मात्र यसबाट नियन्त्रणमा राख्न सकिँदैन ।

३. औषधि सेवन

मधुमेहको किसिमअनुसार टाइप एक र दुईमा चिकित्सकको सल्लाहमा मधुमेहीले औषधि सेवन गर्नुपर्छ । इन्सुलिन इन्जेक्सन लिनुपर्ने भएमा इन्जेक्सन लिन्न भन्नु हँुदैन । खाने औषधिजस्तै बानी परेपछि इन्सुलिन लिन झन्झट महसुस हुँदैन । चिकित्सकसँंग नियमित परामर्श लिइरहनुपर्छ । समयसमयमा रगत परीक्षण गराई रहनुपर्छ । चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्नुपर्छ । औषधि बीचमा छोड्नु हँुदैन । अब त निको भइसक्यो भन्दै औषधि खान छोड्नु हँुदैन ।

४. व्यायाम

व्यायामले शरीरमा भएको इन्सुलिनको उचित प्रयोग हुन्छ । मधुमेहीले व्यायाम गर्दा आफ्नो शरीरको क्षमताअनुसार हलुका व्यायाम मात्र गर्नुपर्छ । मौसमअनुसार बिहान आधा घन्टादेखि एक घन्टासम्म नरोकी एकै गतिमा फूर्तिसाथ फटाफट हिँड्नु मधुमेहीका निमित्त राम्रो व्यायाम मानिन्छ । व्यायाम भने बीचमा छुटाउनु हुँदैन । यसले मधुमेहीलाई आत्मविश्वास प्रदान गर्छ ।

५. नियमित रक्त परीक्षण

नियमित रक्त परीक्षणले मधुमेहीहरूको उपचारमा महत्वपूर्ण भूमिका खेल्न सक्छ । मधुमेहीहरूले यदि रगतमा चिनीको मात्रा घटबढ छैन भने १५ दिनमा एकदेखि दुई पटकसम्म रक्त परीक्षण गर्ने तर रगतमा चिनीको मात्रा घटबढ भइरहेमा कम्तीमा हप्ताको दुई पटक अनिवार्य रक्त परीक्षण गर्नुपर्छ ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

कोदो खाँदा क्यान्सर, मुटुरोग र मधुमेहबाट पनि जोगाउँछ, यस्तो फाइदा

कोदोलाई धेरैजसो मानिसले राम्रो अन्न मान्दैनन् । तिनीहरू यसको गुणमा होइन कि रंगमा गएकाले त्यस्तो भएको बुझ्न गाह्रो छैन । तर, कोदो तपाईंहामीले सोचेजस्तो कम गुणकारी खाद्यान्न भने हुँदै होइन ।

यसमा चामल र मकैभन्दा ३५ गुणा अनि गहुँभन्दा ८.७३ गुणा बढी क्याल्सियम पाइन्छ । यसमा मकैभन्दा ३.७ गुणा, चामलभन्दा २.३ गुणा र गहुँभन्दा १.५ गुणा बढी आइरन पाइन्छ ।

मैथिलीमा मडुवा, नेवारीमा डुसी, अंग्रेजीमा मिलेट भनिने कोदो प्रोटिन, भिटामिन, ऊर्जा तथा खनिजको प्रमुख स्रोत हो । यसलाई भविष्यको स्मार्ट खानासमेत भनिएको छ ।

कोदो हाम्रो मुलुकका लागि फयुचर स्मार्ट फुड (भविष्यको स्मार्ट भोजन) रहेको जनाउँदै नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), जिन बैंकका वरिष्ठ वैज्ञानिक डा. बालकृष्ण जोशी भन्छन्, ‘यसलाई ढिँडोका रूपमा मात्र नभई म:म, सेल रोटी, बिस्कुट, चाउचाउ र रोटी लगायतका आधुनिक परिकारका रूपमा पनि उपयोग गर्नुपर्छ ।’

सामान्य स्वस्थ व्यक्ति मात्र नभई बालबालिका, गर्भवती, मधुमेह, रक्तचापका बिरामीलाई समेत कोदो खानाले उल्लेख्य फाइदा पुग्ने वैज्ञानिक अनुसन्धानबाट पुष्टि भइसकेको औंल्याउँदै उनी स्वास्थ्यसम्बन्धी फाइदाका लागि यसको उपयोग हुनुपर्ने सुझाउँछन् ।

कोदो तराईदेखि उच्च पहाडी क्षेत्रसम्म जुनसुकै जलवायुमा पाइन्छ । हामीलाई चाहिने प्राय: सबै थोक यसमा हुने गरेको विज्ञहरू औंल्याउँछन् ।‘कोदोको सन्तुलित उपयोगले राम्ररी पोषित भएर स्वस्थ रहन सघाउँछ,’युनिसेफ नेपालका पोषणविद् नवीन पौडेल भन्छन्,‘पहिले नहुनेले कोदो खाने गरे पनि आजकल हुनेले खान थालेको अवस्था छ।’

नेपाली समाजमा कोदोको उपयोगलाई कुनै बेला गरिबीको प्रतीकसमेत मान्ने गरिएको थियो । यसलाई कुअन्न मान्ने परम्पराले गर्दा यसको गुण अपहेलित हुँदै आएको छ ।

नेपालीको खाने चलनमा मुख्य घटक नै भात भएको र यसैमा अत्यधिक निर्भर रहने भएकोले नसर्ने रोगको वृद्घिमा समेत यसले सघाइरहेको छ । दशैकाे पहिले तराई र पहाडमा आर्थिक रूपले विपन्न वर्गलाई स्वस्थ राख्ने मुख्य आधारमध्ये एउटा कोदोसमेत हुन सक्ने पौडेलको अनुमान छ ।

धेरैजसो सहरी क्षेत्रका हुनेखानेहरूले‘थ्रिल’रमाइलो र फरक स्वादको लागि कोदो खाने गरेको जनाउँदै पौडेल भन्छन्, ‘हामी यसको फाइदा जानेरभन्दा पनि नजानेर परम्पराग बानीव्यहोरा आदिले खाइरहेका छौं ।’

हाल हाम्रो मुलुकमा अमृतजस्तै उपयोगगर्न सकिने कोदोको विषजस्तो उपयोग भइरहेको विज्ञहरू बताउँछन् । कोदोको उपयोग घरेलु जाँड, रक्सी, तोङबा लगायतमा बढी भइरहेको दु:खद स्थिति अाैंल्याउँदै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग (डीएफटीक्यूसी) का वरिष्ठ खाद्य अनुसन्धान अधिकृत पूर्णचन्द्र वस्ती भन्छन्,‘कोदोको नियमित सन्तुलित उपयोग मात्रै गर्न सके पनि हाम्रो मुलुकबाट कुपोषण हटाउन सकिन्छ ।’

ढिँडोको रूपमा कोदो खानु अति नै फाइदाजनक मानिन्छ । रोटीको रूपमा खानु वा गहुँ, मकै आदि पिठोमा कोदोको पिठो मिसाएर रोटी लगायतका परिकार बनाउनुसमेत लाभदायक मानिन्छ ।

अफ्रिकातिर कोदोलाई सातुजस्तै फिटेर खाने चलन छ । हाम्रो मुलुकमा पनि यसरी कोदोको उपयोग गरिँदा यसले थप स्वास्थ्यसम्बन्धी फाइदा मिल्न सक्छ ।

बालबालिकाका लागि बनाइने लिटोमा कोदोको उपयोग गर्दा उनीहरूको विकासका लागि थप टेवा पुग्ने गर्छ । मल्टिग्रेन (बहुअन्न) पिठोमा कोदोमिसाएर थप स्वस्थकर र स्वादिलो रूपमा उपयोग गर्न सकिने जनाउँदै बस्तीले‘हर्लिक्स’जस्तो शक्तिवर्धक पेय पदार्थबनाउने‘डीएफटीक्यूसी’मा केही अनुसन्धान भइरहेको बताए ।

खासगरी गर्भवतीले क्याल्सियमको चक्की खानुको सट्टा दुइटा कोदोका रोटी खाए पुग्छ । स्तनपान गराउनेहरूका लागि समेत यो दूध बढाउने आधार बन्छ । भारतमा कोदोले पापड, भुजिया, स्पागेटी, नुडल्स आदि बनाउन थालिएको छ ।

कोदोमा अरू पिठो मिसाएर बिस्कुट, पाउरोटी, बन, केक, मफिन, शिशु खाद्य पदार्थजस्ता विभिन्न परिकार बनाउन थालिएको छ ।

वस्तीका अनुसार, कोदो फलाम, क्याल्सियमजस्ता म्याग्नेसियम, फोस्फोरस र पोटेसियमजस्ता खनिजको समृद्घ स्रोत हो । यसमा प्रशस्त मात्रामा क्याल्सियम हुन्छ ।

फाइबरले भरिपूर्ण कोदोमा विभिन्न भिटामिन (जस्तै : बिटा क्यारोटिन, नियासिन, भिटामिन बी ६, फोलिक एसिड) हुन्छन् । यसमा भएको लेसितिनको उच्च मात्राले स्नायु प्रणालीलाई बलियो बनाउन सघाउँछ । यसको उपयोगले कुपोषण हटाउन सकिन्छ ।

यसमा प्रशस्त मात्रामा पोलिफेनल्स, टयानिन, फाइटोस्टेरोल्स लगायतका फाइटोकेमिकल्स पाइन्छन् । यो एन्टिअक्सिडेन्टले समेत परिपूर्ण हुन्छ ।

मुलुकको खाद्यान्न बालीको चौथो महत्त्वपूर्ण बाली कोदो रहेको अाैल्याउँदै बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका वरिष्ठ बाली विकास अधिकृत प्रकाश आचार्य भन्छन्,‘कोदो खेतीमा मल, जल, विषादी आदिको खासै आवश्यकता नपर्ने हुनाले यो हाम्रो लागि अत्यन्त उच्च स्तरको अर्गानिक खाद्य पदार्थ हो ।’

मानिसलाई ज्ञात सबैभन्दा पुरानो खाद्य पदार्थमध्ये एक कोदो खाद्य र पोषण सुरक्षाको दृष्टिले महत्त्वपूर्ण भए पनि सरकार र राज्यले खासै महत्त्व दिएको छैन ।

हाम्रो मुलुकमा कोदोका दुई सयभन्दा बढी स्थानीय जात पाइन्छन् । यसको बीउ घरेलुस्तरमै करिब १० वर्षसम्म सुरक्षित राख्न सकिन्छ । मुलुकमा करिब २ लाख ६० हजार हेक्टरमा कोदोको खेती हुन्छ ।

वार्षिक रूपमा करिब ३ लाख १५ हजार मेट्रिक टन कोदोको उत्पादन हुन्छ । मुलुकमा कोदो बाली लगाउने कुल क्षेत्रफलको ७५ प्रतिशत जग्गा मध्यपहाडी जिल्लामा पर्छ ।

क्यान्सर, मुटुरोग र मधुमेहबाट जोगाउँछ

इन्डियन इन्स्टिच्युट अफ मिलेट रिसर्च (आईआईएमआर), हैदरावाद, भारतको तथ्यपत्रअनुसार कोदोबाट धेरै लाभ लिन सकिन्छ । महामारीसम्बन्धी अध्ययनहरूले के देखाएका छन् भने, कोदोको उपयोगले मुटु रोगको जोखिम कम हुन्छ, मधुमेहबाट जोगाउँछ, पाचन प्रणालीमा सुधार ल्याउँछ, क्यान्सरको जोखिम कम गर्छ, शरीरको शुद्घीकरण गर्छ/विषाक्तता हटाउँछ, श्वासप्रश्वासको स्वास्थ्यसम्बन्धी प्रतिरोधक क्षमता बढाउँछ, ऊर्जास्तरमा वृद्घिसँगै मांशपेशी र नशासम्बन्धी प्रणालीमा सुधार ल्याउँछ, पार्किन्सन्स रोग, मेटाबोलिक सिन्ड्रोम लगायतका थुप्रै डिजेनरेटिभ (पुनर्निर्माण हुन नसक्ने) रोगविरुद्घ सुरक्षा प्रदान गर्छ ।

कोदोमा रेसिस्टेन्ट स्टार्च, ओलिगोसेकेराइड, लिपिड, एन्टिअक्सिडेन्टजस्तो फेनोलिक एसिड, एवेनथ्राम्रामाइड्स, फ्लेभोन्वाइड्स, लिग्नस र फाइटेस्टेरोलजस्ता थुप्रै महत्त्वपूर्ण पोषकतत्त्व पाइन्छन् ।

कोदो मुटु रोगमा समेत अत्यन्त फाइदाजनक मानिन्छ । म्याग्नेसियम अत्यधिक हुने भएकाले यसले विशेष रूपले रक्तचाप कम गर्न, एथेरोस्केलेरोसिसमा मुटुको स्ट्रोकको जोखिमलाई न्यून गर्न सघाउँछ ।

कोदोमा भएको पोटेसियमले‘वासोडिलेटर’अर्थात् सानो रक्तवाहिनीलाई ठूलो पारेर रक्तचाप कम राख्न सहयोग गर्नुका साथै मुटु र रक्तनलीसम्बन्धी जोखिम कम गर्छ । यसले केही प्रकारका क्यान्सर र मुटु रोगबाट समेत जोगाउँछ । कोदोमा उच्च मात्रामा पाइने रेशाले कोलेस्ट्रोल कम गर्नसमेत सघाउँछ ।

यसले एलडिएल कोलेस्ट्रोललाई कम गर्नुको साथै एचडीएल कोलेस्ट्रोलको प्रभावलाई बढाउँछ । मधुमेह हुनबाट जोगाउन कोदोको उपयोग अत्यन्त फाइदाजनक देखिएको छ ।

यसमा भएका फाइबर, म्याग्नेसियम, भिटामिन–ई, फेनोलिक यौगिक र टयानिनले मधुमेहको खतरालाई कम गर्छ । किनभने यिनले रगतमा ब्लड ग्लुकोज र इन्सुलिनको स्तरको एक्कासि वृद्घिलाई मन्द पार्छ ।

पाचनसम्बन्धी विकारमा समेत कोदो उपयोगी मानिएको छ । यसले गर्दा ग्यास्ट्रिक अल्सर र कोलोन क्यान्सरको सम्भावनामा समेत कमी आउँछ । यसमा भएको रेसाले कब्जियत, अत्यधिक ग्यासलाई दूर गर्छ ।

यो रेसाले गहुँ र मकैको आटा सेवन गर्नेहरूको दाँजोमा इसोफेजियल क्यान्सर हुने सम्भावनामा समेत कमी ल्याउँछ ।

कोदोको नियमित उपयोगले क्यान्सरको जोखिमलाई समेत कम गर्न सक्छ । यो फेनोलिक एसिड, टयानिन र फाइलेट प्रशस्त भएको खाद्यपदार्थ हो । हालै गरिएको अध्ययनले रेसाले महिलामा स्तन क्यान्सरको सम्भावनालाई कम गर्छ ।

दिनहुँ ३० ग्राम रेसा उपयोग गरेर स्तन क्यान्सरको सम्भावना ५० प्रतिशतसम्म कम गर्न सकिन्छ । कोदोमा भएका उपयोगी तत्त्वहरूले विभिन्न क्यान्सरको जोखिममा कमी ल्याउँछन् ।

आईआईएमआरको अनुसार, कोदोले शरीरलाई विषाक्त पदार्थबाट मुक्त गर्छ ।

कोदो खाँदाका फाइदा

– मुुटु रोग लाग्न दिँदैन ।

– एन्टिअक्सिडेन्ट गुण हुन्छ ।

– हाड बलियो बनाउँछ ।

– बालबालिकाको हाड र दाँतको विकासमा सघाउँछ ।

– नराम्रो कोलेस्ट्रोल घटाउँछ ।

– शरीरको विषाक्तता बाहिर निकाल्छ ।

– पाचनतन्त्रलाई तन्दुरुस्त राख्छ ।

– रगतको कमी हुन दिँदैन ।

– कब्जियत हुन पाउँदैन ।

– टाइप २ मधुमेहबाट जोगाउँछ ।

– स्तन क्यान्सर हुन दिँदैन ।

– शारीरिक तौल नियन्त्रित राख्छ ।

– रक्तचाप घटाउन प्रभावकारी हुन्छ ।

– मृगौला र कलेजोको रोग लाग्न दिँदैन ।

– रोगप्रतिरोधी क्षमता बढाउँछ ।

– फलफूल र सागसब्जी जतिकै पोषक हुन्छ ।

– ऊर्जाको राम्रो स्रोत हो ।

– पित्त थैलीमा पत्थरी हुन दिँदैन ।

– मीठो निद्रामा सघाउँछ ।

– छाला चम्किलो बनाइराख्छ ।

– घाउ छिटो भरिन सघाउँछ ।

– आमाको दूध बढाउँछ ।

– मोटाहरूका लागि उपयोगी हुन्छ ।

– सिलिएक रोग वा ग्लुटेन एलर्जीबाट पीडितहरूका लागि उपयोगी हुन्छ ।

– कुपोषण हुन दिँदैन ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।