भनिन्छ एक बारको जुनी मरी लानु के छ र त्यसैले मनले चाहेको कुरा पुरा गर्न पर्छ । जतिनै धन सम्पत्ति कमाए पनि आफुलाई गर्न मन लागेको कुरा गर्न नपाउद हामीलाई जिन्दगी देखि पुरा सन्तुष्टी मिल्दैन ।

हामी मध्य धेरैलाई कहिलेकाही आफुले पढिरहेको बिषय अथवा गरिराखेको काम सबै त्यागेर आफ्नो रुची को बिषय पढ्छु/मन लागेको काम गर्छु भन्ने सोच आउँछ । तर धेरैलाई पारिवारिक र अन्य कुराहरुले रोक्ने गर्छ र आफुलाई गर्न मन लागेको कुराबाट जिन्दगी धान्न गाह्रो हुन्छ भनेर हामी आँफै पनि डराउने गर्छौ । बिशेष गरी कला संगीत र खेलकुदमा निर्भर भएर बाँच्न सकिदैन कि भनेर हामी आफुले खेल्न चाहेको खेल अथवा बजाउने र गाउने चाहनालाई त्यागेर अघि बढ्न वाध्य हुन्छौ ।

यी सबै कुराहरुलाई बेवास्ता गर्दै आफ्नो रुचीको बिषय अँगालेका एक ब्यक्तिको बारेमा आज हामी कुरा गर्दै छौं जस्को जीवन कथा जो कोहीलाई पनि प्रेरणादायीक लाग्दछ ।

पोखरा घर भएका केशव राज आचार्यलाई सानै देखि संगीतमा रुची थियो र विभिन्न वाध्य बाधन बजाउने गर्दथे । पोखरा लामाचौरको डब्लु एर सि बाट २००२ मा सिभिल ईन्जिनियरिङमा स्नातक पुरा गरेका उनले ८-९ बर्ष जागिर खाए । परिवारको साथ र साथीहरुको हौसलाले आफ्नो जागिर छोडेर संगीत पढ्न काठमाडौं विश्व बिद्यालयमा संगीतमा स्नातक तहमा भर्ना भए । सारङी, हर्मोनियम, गितार र किबोर्डमा राम्रो दखल राख्ने केशवको आवाज आज भोली नर्वेको राजधानीमा रहेको सोग्न्स्भान ताल नजिकै रहेको विद्यार्थी होस्टलमा गुन्जिने गर्दछ ।

हाल उनी नेर्वेको युनिभर्सिटी अफ ओस्लोमा संगीत बिषयमा नै स्नातकोत्तर गर्दै छन् र थेसिसको लागि नेपाली कौरा गीतलाई आफ्नो खोजको बिषय बनाएका छन् । यिनै बिषयलाई समेटेर तयार पारिएको भिडियो आज हामी तपाईंहरु माझ प्रस्तुत गर्दैछौं ।