दीपक घिमिरे

कलङ्की जाममा पुगेपछि ऊ आफ्नो ह्यान्डब्याग र एउटा अलि ठूलै ब्याग बोकेर गाडीको ढोकानिर पुगी । मैले ऊ झर्न थालेको महसुस गरेँ । मलाई नयाँ बसपार्क नै पुग्नु थियो । हतार केही थिएन । हाम्रा आँखा जुधेका थिए । मनले मन पराइसकेको थियो तर बोली फुटेको थिएन । म पनि कलङ्की झर्ने निधो गरेँ ।
कछुवाको गतिमा हिँडेको बस कलङ्की आकासे पुल क्रस गरेर रोकियो । ऊ झरी अनि ऊसँगै म झरे । खलासीले उसका दुई बोरा चामल र आलु झार्दियो । मैले उसलाई सहयोग गरेँ । ऊ हेरेर बसी ।
‘थ्याङ्स !’ उसले मसिनो स्वर सुनाई ।
कसम, मलाई थ्याङ्सको रिप्लाई दिन आउँदैन । जहिले कसैले धन्यबाद अथवा थ्याङ्स भन्यो भने खिस्स हाँसिदिन्छु । आज पनि त्यस्तै भयो, लजाउँदै हासिदिएँ ।
‘तपाईं यहीँ ओर्लने हो ?’ खलासीले डिस्टर्ब गर्दै सोध्यो ।
मैले मुन्टो हल्लाउँदै भने– ‘हो !’
गाडी अगाडि गुड्यो, साना ट्याक्सीहरुले हाम्लाई घेर्न थाले । मैले ट्याक्सीलाई वास्तै नगरी भने– ‘कहाँ जाने तपाईं ?’
उसले कलङ्की चोकतिर देखाउँदै भनी– ‘त्यही ! नजिकै हो, भाइ आउँछ लिन ।’
अब गफिने बहाना सकिए । मलाई उकुस–मुकुस भयो । के बोलौँ, के भनौँ भयो । सडकमै सटाएर राखेको एउटा ठेलामा एकजना अन्टी चिया बेच्दै हुनुहुन्थ्यो । मैले जाडो भएको महसुस गर्दै भनँे– ‘चिया पिउने ? भाइ आउँदासम्म ।’
उसले नाक खुम्च्याउँदै भनी– ‘सरी ! म कहिल्यै चिया पिउँदिनँ ।’
मनमनै सोचेँ– ‘यति राम्री हुनुको कारण पनि यही होला, छालाको चमक बचाइराख्न खानपिनमा ध्यान दिएकी होली मोरीले ।’
उसले फोन निकालेर डायल गरी, स्विच अफ थियो । रिसाउँदै अनुहार बिगारी अनि भनी– ‘स्विच अफ गरेको छ पागलले । के गर्ने होला ?
उसले फोन ब्यागमा राखेर छटपट गरी, मैले ध्यान खिच्दै भनेँ– ‘दाङ घर हो कि माइत ?’
‘माइत पनि दाङ घर पनि दाङ । यहाँ त पढाइ मात्र हो ।’ उसले यति भनेर मुसुक्क हाँसी ।
ऊ हाँस्दा चिउडोमा भएको कालो कोठी तनक्क तन्कियो, त्यो बेला ऊ स्वर्गकी अप्सराजस्तै देखिई । म झन लठ्ठिए । उसले परिचयको कुनै बहाना निकालिन अनि मैले आफै भने– ‘बाई द वे, म दीपक, घर घोराही ।’
उसले मुन्टो मात्र फर्काएर भनी– ‘म बिना शर्मा, मेरो पनि घर घोराहीमै हो ।’
हामीले परिचय गरेर सक्दा फेरि एउटा ट्याक्सीले दिमाग चाट्न थाल्यो । सय रुपैयाँमा जान तयार भएर ।
‘फेसबुक एकाउन्ट छ ?’ उसको चामल र आलु ट्याक्सीको पछाडि राख्दिँदै मैले सोधेँ ।
‘छ नि ! लक्की बिना नाम छ । एड गर्नु ल ।’ ऊ ट्याक्सीको अगाडि बस्दै भनी ।
मैले मोबाइल निकालेर डाटा अन गर्दै थिएँ, ट्याक्सी स्टार्ट भइहाल्यो, उसले बिदाइको हात हल्लाई ।
फेसबुकमा लक्की बिना नाम गरेका सयौँ केटीमध्ये उसलाई चिने मैले । एड फ्रेनको बटन थिचेर अरु फोटो हेर्दै थिए, मेरो एउटा झोला बसमै छुटेछ ।
दिमाग खराब ! लोकल माइक्रो चढेर नयाँ बसपार्क पुगे । बस बसपार्कभित्र थिएन, काउण्टरमा सोधे, बसपार्कको पार्किङमा हुनसक्ने कर्मचारीले बताए ।
बिनासँगको मित्रता निक्कै महँगो हुने सम्भावना बढ्यो । एउटा निकोनको ठूलो क्यामरा, महँगो लेन्स अनि ल्यापटप त्यही ब्यागमा थियो । तनाबले पार्किङ एरियातिर दौडिए । बस चिन्नै मुस्किल, नम्बर हेर्दै गए ।
घरबाट बाको फोन आइरहेको थियो, मैले कसैको फोन उठाइन् । बस खोजिरहे । लगभग सयवटा बसमध्ये लास्टमा बस भेटियो तर मान्छे भेटिएन । भित्रबाट लक भएको बसमा मेरो झोला छ या गायब भयो अझै केही अत्तोपत्तो छैन ।
फेरि काउन्टरमा आएर बसवालाको नम्बर मागे, फोन गरे । राप्ती होटल एन्ड लजमा रहेछन् । गएर झोला लिए । सही–सलामत झोला पाउँदा मन फुरुङ्ग भो, सामाखुशीसम्म हिँडेरै गएँ ।
कोठामा पुगेर फेसबुक हेरेँ, लक्की बिनाले फ्रेन रिक्वेस्ट एसेप्ट गरेकी थिइन् । मैले आफैले आफैलाई लक्की महसुस गरेँ ।
फेरि बाको फोन आयो, मैले फोन काटिदिएँ । बासँग हेल्लो भन्नुभन्दा पैला लक्की बिनालाई थ्याङ्स भन्नु थियो । ऊ बीस मिनेट अघि अफ भएकी थिई, मैले उसको टाइमलाइनमा गएर लेखे– ‘थ्याङ्स फर एसेप्ट मी ।’
अब डाटा अफ गर्ने कुरै भएन । ऊ अन आउना साथ गफिनु थियो । डाटा अनमै राखेर बालाई कल गरे । उही फर्मालिटीका गफ । सजिलै पुगिस् ? कतिबेला पुगिस् ? बाटोमा जाम पर्यो कि नाई । यस्तै यस्तै प्रश्न । झ्याउ लाग्ने जस्तो ।
फिलिङ लभमा पर्दै गरेको छोरालाई अनावश्यक प्रश्न गर्ने मेरा बा । निष्ठुरी म पनि उस्तै, बाले मेरो चिन्ता गर्दैछन्, म चै बिनाको । बाको फोन काटेर फेरि बिनाको प्रोफाइल हेर्न थाले ।
ऊ अविवाहित थिई, तर मलाई भन्दा माइत र घर दुबै दाङ भनेर भनी । म ऊप्रति झन क्रेजी भए । उसका एक–एक फोटाहरु नियाले । हरेक फोटामा देखिने उसको कालो कोठीले मेरो मन जित्दै गयो तर ऊ अनलाइन आइन ।
खाना खाने बेला भयो । दिउँसो खाजा खाने बेला भयो । सुस्त–सुस्त बेलुका नै भयो तै पनि उसलाई अनलाइन देखिन मैले । मलाई भोकै थिएन । गाडीमा मन जितेकी उसले अहिलेसम्म जितिरही । उसको अनुहार कल्पिँदै गर्दा मेरा भोक प्यास सबै हराउँथे ।
बाँच्नका लागि खानुपर्छ भन्ने मान्यतालाई आत्मसात् गर्दै एउटा बिस्कुट र एक बोतल पानी पिएँ । बिहानदेखि बेलुकासम्म मैले लिएको भोजन यही एउटा बिस्कुट थियो । तर पनि म सन्तोष थिए । मात्र एकैछिन बिना अनलाइन आइदिए मेरो रात पनि मस्तले कट्थ्यो । मैले म्यासेन्जर रिफ्रेस गरिरहेँ ।
निद्रा लाग्नेबेला भैसक्दा पनि ऊ अनलाइन नआएपछि मैले अफलाइन नै म्यासेज छाडने सोच बनाए अनि लेखँे– ‘हेल्लो !’
उसलाई हेल्लो लेखेर फेरि म उसको प्रोफाइल नियाल्न थाले, सयौँ फोटाहरुमा लाइक ठोक्दिएँ, एक दर्जन जति फोटाहरुमा कमेन्ट पनि ठोक्दिए । धेरै फोटाहरुलाई जुम गरी–गरी हेरेँ । उसको रियल अनुहार र फोटोमा भिन्नता छुट्याउन खोजे । मलाई समय कटाउनु थियो । उसको फोटो हेरेरै कट्दै थियो ।
बिहान छुट्टिएका हामीहरु वर्षौं अघि छुट्टिएको जस्तो महसुस मलाई हुँदै थियो । बिहानै भेट्ने रहर मनमा लाग्दै थियो, निदाउने तयारी गर्ने सोच्दै थिएँ । प्याट्ट म्यासेन्जरमा म्यासेजको टोन बज्यो, हेरे बिनाकै म्यासेज ।
ओ माई गड । खुशीको सीमै रहेन । पैला फेसबुकमा एउटा स्टाटस पोस्ट्याएँ । ‘फिलिङ एक्साइटेड एन्ड ह्याप्पी !’
म्यासेन्जरमा उसको म्यासेज थियो– ‘सरी यार ! गाडीको यात्रामा थाकिएर दिनभर सुतेछु, अनलाइन नै आएन ।’
‘इट्स ओके !’ अरु भन्नु के नै थियो र ? उसलाई म्यासेज गरेर कुर्दै थिएँ । दुई नोटिफिकेसन झुल्किए । एउटा थियो स्टाटसमा उसको लाइक अनि अर्को उसको कमेन्ट– ‘वाउ ! बधाई छ ल, तर एक्साइटेड र खुशी चैँ कसरी भयौ ?’
लेख्न मन थियो– ‘तिम्रो कारण, तिम्लाई पाउँदा ।’ तर सक्दैन । किनभने बल्ल सुरु हुँदैछ हाम्रो मित्रता, पैला साथी बनौँ अनि बल्ल साथीभन्दा माथि सोचौँला भनेर केही रिप्लाई गरेन ।
सुरु भयो यतै म्यासेन्जरमा गफ, आधी रात चल्दासम्म भइरहे गफ । कहिले मीठा कहिले तीता । भोलि भेट्ने जिद्दी मैले गरे, मिलेसम्म भेट्ने बाचा उसले गरी अनि हामी सुत्यौँ ।