नेपालीहरुको महान चाड दसैँ नजिकिदै जॉदा मासुको कुरा पनि आइहाल्छ । दसैँमा पेटभरि मासु नखाए कहिले खाने भन्नेहरु धेरै छन् । तर दसैँमा मासु र अन्य खानेकुरा खाँदा बिरामी मात्र होइन स्वस्थ मानिस पनि बिरामी बन्ने अत्यधिक सम्भावना रहन्छ ।

खानपिनमा सामान्य ध्यान नदिँदा दसैँको समयमा उच्च रक्तचाप, मुटु, मधुमेह र पेटजन्य समस्याका साथै झाडाबान्ता हुने, कब्जियत हुने, युरिक एसिड बढ्ने तथा ग्यास्ट्रिकका बिरामीको सङ्ख्यामा उल्लेख्य वृद्धि हुने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवारोग विशेषज्ञ डा शेरबहादुर पुन बताउँछन् ।

एकै पटक धेरै मासु पकाएर धेरै दिनसम्म खाँदा त्यसबाट रोगलाई बढावा दिनेबाहेक अन्य केही पाइदैन उनले भने ।
भक्तपुर क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा रोशन प्रजापति रातो मासु पोलेर, धेरै भुटेर वा तारेर खाँदा क्यान्सरको खतरालाई बढाउने बताउँछन् । उनले भने,‘दसैँमा मासु खाँदै नखाने भनी रोक्न सकिँदैन तर खाँदा सावधानी भने अपनाउनुपर्छ । ’क्यान्सरका बिरामीले खसीको मासु एकै पटक खानुभन्दा साधारण तरिकाले पकाएको थोरै मात्र प्रयोग गर्ने र पोलेको, डढेको वा धेरै भुटेको मासु भने खाँदै नखान उनको सल्लाह छ ।

मधुमेह रोग विशेषज्ञ डा. ज्योति भट्टराई भने दसैँमा खानै पर्छ भनी खसीको धेरै मासु एकै पटक नखान सल्लाह दिनुहुन्छ । बासी नखाने, सागसब्जी, गेडागुडी पनि खानामा समावेश गर्ने बरु कुखुराको मासु, माछाको मासु खाने पनि गर्न सकिन्छ । उनले एक छाकमा तीन, चार टुक्रा मात्र मासु खाने, कोक, फेन्टाजस्ता पेय पदार्थलाई भन्दा पानीलाई प्राथमिकता दिन, हरियो तरकारीलाई खानामा समावेश गर्न र मासुको मात्र भर नपर्न सल्लाह दिनुभयो ।

वरिष्ठ पोषणविद् डा अरुणा उप्रेती दसैँमा दीर्घरोगीले विशेष गरी खानपानमा ध्यान दिनुपर्ने बताउनुहुन्छ । उनले ताजा र सफा मासु किन्नेतर्फ ध्यान दिन आग्रह गरिन् । ‘मासु पकाउँदा धरै चिल्लो, मसला राखी भन्दा पनि साधारण तरिका
अपनाउनु पर्छ । अन्यथा अपच हुने, बान्ता हुने, धेरै बासी मासुले आउँ हैजाजस्ता समस्या हुने गर्छ उनले भनिन् ।

Topics #दशैँ #माशु